काठमाडौँ । हिन्दू धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको छ। पर्वका दिन लाखौँ श्रद्धालु आउने अपेक्षासहित दर्शनलाई व्यवस्थित, सहज र सुरक्षित बनाउन विशेष व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
कोषले बिहीबार पत्रकार सम्मेलन गर्दै दर्शनार्थीको चाप व्यवस्थापन गर्न बिहान २ बजेदेखि चारवटा ढाेका खोलिने जानकारी दिएको हो।
बत्तिसपुतली–गौशालाबाट पिङ्गलास्थान हुँदै धर्मशालालाई बायाँ पारेर चार शिवालय पञ्चदेवल भई दक्षिण ढोकाबाट प्रवेशको व्यवस्था गरिएको छ। यस्तै, एयरपोर्टतर्फबाट तिलगङ्गा–राममन्दिर हुँदै वाग्मती नदी पार गरी पूर्वढोकाबाट प्रवेश गर्ने श्रद्धालु सोही ढोकाबाट बाहिरिने व्यवस्था मिलाइएको छ।
जोरपाटी, कपन, महाँकाल र चावहिल क्षेत्रबाट आउने भक्तजनलाई मित्रपार्क–गौरीघाट हुँदै उत्तरढोकाबाट प्रवेश गराई दर्शनपछि सोही मार्गबाट फर्किने प्रबन्ध गरिएको कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले जानकारी दिए।
त्यस्तै, रातोपुल, कालोपुल र सिफल क्षेत्रबाट आउनेहरूका लागि जयवागेश्वरी मन्दिर अगाडिको मछिन्द्र गणेश, दथुटोल हुँदै भूवनेश्वरीको सानो ढोकाबाट प्रवेश गराई शंकराचार्य मठ पूर्वतर्फको आकाशे पुल हुँदै पश्चिम सानो ढोकाबाट प्रवेश गराई पश्चिम मूल ढोकाबाट बाहिरिने व्यवस्था मिलाइएको छ।
दर्शनमार्ग, मेला क्षेत्र र श्रद्धालुको सुरक्षाका लागि मूल शिविरमा कमान्ड पोस्टसहित सञ्चार सेवायुक्त प्रहरी नियन्त्रण कक्ष स्थापना गरिएको छ। साथै आवास तथा भोजनस्थल, पार्किङ क्षेत्र, जुत्ता–चप्पल कक्ष र गोरखनाथ, सिफल, तिलगङ्गा, वनकाली, कैलाश, राममन्दिर, उमाकुण्ड, वेदविद्याश्रम तथा घाट क्षेत्रमा नेपाल प्रहरीका सब–कमान्ड पोस्ट राखिनेछ।
पशुपति क्षेत्र मासु, मदिरा तथा लागुपदार्थ निषेधित क्षेत्र भएकाले यस्ता वस्तुको बिक्री–वितरण नियन्त्रण गर्न विशेष प्रहरी परिचालन गरिने जनाइएको छ। मेलामा स्वास्थ्य शिविर, खानेपानी तथा स्वयंसेवक परिचालनको समेत व्यवस्था मिलाइएको कोषले जनाएको छ। यस वर्षको महाशिवरात्रि पर्व फागुन ३ गते आइतबार देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ।


प्रतिक्रिया दिनुहोस्