यदि कसैले नयाँ पार्टी र नयाँ नेतृत्वमा भोट हाल्न चाहन्छ भने त्यो नेपाली कांग्रेस हो: गगन थापा


सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले यदि कसैले नयाँ पार्टीमा भोट दिन्छु भनेमा त्यो कांग्रेस रहेको बताएका छन् ।

सर्लाहीको धनकौलमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘यदि कसैले नयाँ पार्टी र नयाँ नेतृत्वमा भोट हाल्न चाहन्छ भने त्यो नेपाली कांग्रेस हो । किनकि कांग्रेस विरासतलाई बोकर नयाँ रूपमा नीति र नेतृत्व लिएर आएको छ ।

उनले अबको देश युवाहरूको काँधमा रहेको र युवाहरूलाई देखेको पछि खुशी लागेको बताए । उनले युवाहरूले नै यो देश हाँक्ने भएकाले सक्रिय सहभागिता हुनुपर्ने बताए । उनले भने,”सधैँ अरूले भन्ने गर्थे खै युवाहरू कहाँ छन् । तर आज यहाँ धनकौलमा युवाहरू खासगरी जेन-जी पुस्ता देखेपछि धेरै खुशी भएको छु । उहाँहरूको विचार र क्षमताको म कदर गर्न चाहन्छु ।”

थापाले अहिले मधेसको जग बलियो बनाउन शिक्षा जरुरी रहेको तर त्यसअघि भोटमार्फत युवाहरूले जिताउनु पर्ने बताए । उनले भने,”अहिले सर्लाही लगायतका मधेसका जिल्लामा शिक्षा, स्वास्थ्य र सिचाइँ मुख्य समस्या हो । यहाँको जग नै बलियो बनाउनु छ । त्यसका लागि युवाहरूले एक जना बराबर पाँच जना परिवारलाई बुझाउनुपर्ने स्थिति छ कांग्रेसको बारेमा । तपाईं युवाहरूले यस बारेमा जिम्मा लिइदिनुपर्छ। मैले मेरो टिमसँग पनि यही भनेको छु ।”

उनले अब कांग्रेसले घोषणा पत्रमा पनि सर्लाहीको मागबारे ल्याउने तयारी भइरहेको बताए । उनले कांग्रेस पार्टीसँग देश चलाउने उत्साह र अनुभव दुवै रहेकाले सर्लाही मात्रै होइन, देशको नेतृत्वका लागि जिम्मेवारी दिन आग्रह गरे । “देशको नेतृत्व गर्ने अवसर पाएमा के गर्ने भनेर ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार छ । प्रधानमन्त्री बनेपछि पाँच वर्षमा गर्ने कामको विस्तृत अध्ययन अनुसन्धान गरेका छौँ । त्यसलाई कार्यान्वयन गर्ने जिम्मा दिने अधिकार देशभरका मतदातामा छ”, सभापति थापाले भने ।