काठमाडाैँ । संघीय संसद राष्ट्रिय सभाको १९ औं अधिवेशन ऐतिहासिक उपलब्धिहरूका साथ समापन भएको छ ।
बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले यो अधिवेशन समयका हिसावले छोटो भएपनि कामको हिसाबले निकै महत्वपूर्ण र भविष्यमा गर्व गर्न सकिने रहेको बताए। अध्यक्ष दाहालले प्रतिनिधि सभा निर्वाचनको संघारमा देशभर चुनावी माहोल बनिरहेको अवस्थामा राष्ट्रिय सभाले अभिभावकीय भुमिका निर्वाह गरेको उल्लेख गरे ।
यस अधिवेशन अवधिमा राष्ट्रिय सभाले महत्वपूर्ण विधेयकहरू पारित गरेको छ । पर्यटन विधेयक, २०८१, चलचित्र विधेयक, २०८१ र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना सञ्चालन विधेयक २०८१ लाई पारित गरी प्रतिनिधि सभामा पठाइएको छ । यस्तै अभौतिक प्राकृतिक सम्पदा संरक्षण विधेयकलाई दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइएको छ ।
यसैगरी मतदाता नामावली ऐन (संशोधन), प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेशहरू सभाबाट सर्वसम्मत स्वीकृत भएका छन् । सरकारले भने सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता लिएको छ ।
२७ दिन चालु रहेको यो अधिवेशनमा कुल ९ वटा बैठकहरू बसेका थिए । कुल १७ घण्टा २५ मिनेट समय सभाको काममा व्यतित भएको छ । यस अवधिमा २९ जना सदस्यहरूले शून्य समयमा ४८ मिनेट र १५ जना माननीय सदस्यहरूले विशेष समयमा ३ घण्टा ३९ मिनेट समय उपयोग गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्