निर्वाचन आयोगद्वारा ५१ प्रकारका सामग्रीको ढुवानी सुरू, कर्णालीका लागि मतपत्र पठाइयो


काठमाडौँ । निर्वाचन आयोग ले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक ५१ प्रकारका निर्वाचन सामग्रीहरूको ढुवानी कार्य तीव्र गतिमा अगाडि बढाएको छ।

मतदानका लागि पूर्वनिर्धारित ५२ प्रकारका सामग्रीमध्ये रबर म्याट हटाएर ५१ प्रकारका सामग्री मात्र जिल्लाहरूमा पठाउन थालिएको आयोगले जनाएको छ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मतदाता नामावली, मतपत्र, नउड्ने मसीको मार्कर, स्वस्तिक छाप, स्ट्याम्प प्याड, मसी लगायतका आवश्यक सामग्रीहरू खरिद गरी ढुवानी सुरु गरिएको छ। प्राप्त हुने सामग्री जाँचबुझ गरेर तत्काल सम्बन्धित जिल्लामा पठाउने काम निरन्तर भइरहेको उनले बताए।

घिमिरेका अनुसार कर्णाली प्रदेशका केही जिल्लामा सामग्री पठाइसकिएको छ भने केही स्थानमा पुग्ने क्रममा छन्। कोशी प्रदेश र अन्य जिल्लाहरूमा पनि सामग्री पठाउने तयारी भइरहेको छ। आयोगले फागुनको पहिलो हप्ताभित्र अधिकांश जिल्लामा निर्वाचन सामग्री पुर्‍याउने लक्ष्य राखेको छ।

मतपत्र छपाइतर्फ समानुपातिक निर्वाचन प्रणालीका मतपत्रहरू छपाइ र प्याकिङ सम्पन्न भइसकेको छ। पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ १ सय ४२ निर्वाचन क्षेत्रअन्तर्गत ६६ जिल्लाका मतपत्र छपाइ भइसकेको र बाँकी मतपत्र आइतबारसम्म छपाइ सक्ने तयारी रहेको आयोगले जनाएको छ।

कर्णाली प्रदेशका जिल्लाहरूका लागि मतपत्र ढुवानी भइसकेको र आइतबार साँझसम्म जिल्ला सदरमुकाममा पुग्ने गरी व्यवस्थापन मिलाइएको सूचना अधिकारी घिमिरेले बताए। हालसम्म हिमाली, पहाडी तथा तराई जिल्लाहरूमा ढुवानीमा कुनै अवरोध नभएको जानकारी आयोगलाई प्राप्त भएको उनले उल्लेख गरे।

यदि ढुवानीका क्रममा कुनै बाधा उत्पन्न भएमा वैकल्पिक मार्ग प्रयोग गरी सामग्री समयमै सम्बन्धित जिल्लामा पुर्‍याउने व्यवस्था मिलाइने आयोगको भनाइ छ। फागुन १० देखि १२ गतेसम्म दुर्गम क्षेत्रमा खटिने मतदान कर्मचारीहरूलाई आवश्यक सामग्री समयमै उपलब्ध गराउन आयोगले तयारी तीव्र बनाएको जनाएको छ।