काठमाडाैँ । नेपालको आर्थिक नीति र विकास मार्गलाई पुनरावलोकन गर्दै आर्थिक सुधार ३.० को अवधारणा अघि सारेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि सार्वजनिक गरेको सङ्कल्पपत्रमा मल कारखाना स्थापना आफ्ना प्रमुख प्राथमिकतामध्ये एक रहेको जनाएको छ।
अन्य दलहरूले झैँ मल कारखाना स्थापनाको प्रतिबद्धता जनाउँदै आएको सन्दर्भमा राप्रपाले भने यसलाई कार्यान्वयनमा लैजाने स्पष्ट योजना अघि सारेको दाबी गरेको छ।
कृषि प्रधान देशमा अहिलेसम्म एउटा पनि रासायनिक मल कारखाना स्थापना हुन नसक्नु विडम्बनापूर्ण अवस्था भएको उल्लेख गर्दै पार्टीले आवश्यकता अनुसार सरकार स्वयं लगानी गर्न वा निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको जनाएको छ। कारखाना सञ्चालनका लागि आवश्यक विद्युत आपूर्तिमा विशेष व्यवस्था गरिने उल्लेख गरिएको छ।
कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आयात प्रतिष्ठापन रणनीतिमार्फत तरकारी, फलफूल, खाद्यान्नलगायत कृषिजन्य वस्तुमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य सङ्कल्पपत्रमा राखिएको छ। वर्षेनी बढ्दो कृषिजन्य आयात घटाउँदै स्वदेशी उत्पादन वृद्धि गर्ने नीति लिइने बताइएको छ।
कृषिको आधुनिकीकरण तथा यान्त्रिकीकरणमार्फत उत्पादन क्षमता अभिवृद्धि गरिने, कृषि पेशालाई सम्मानित बनाइने र कृषि क्षेत्रलाई रोजगारी सिर्जनाको प्रमुख आधारका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।
त्यस्तै कृषि अनुदान प्रत्यक्ष रूपमा कृषकको खातामा पुग्ने व्यवस्था मिलाइने, पशु तथा बाली बिमाको दायरा विस्तार गरिने, उत्पादनको सुरक्षित भण्डारण तथा व्यवस्थित बजार प्रणालीमार्फत मूल्य अभिवृद्धि गरिने योजना अघि सारिएको छ।
पहाडी तथा हिमाली क्षेत्रमा पकेट जोनका आधारमा नगदेबाली प्रवर्द्धन र जडिबुटी तथा फलफूलजन्य प्रशोधन उद्योगलाई विशेष सुविधा प्रदान गरिने उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्