काठमाडौँ । केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि अझै पूर्ण रूपमा ढुक्कको वातावरण निर्माण हुन नसकेको बताएका छन्।
काठमाडौँबाट झापाका चुनावी कार्यक्रममा सहभागी हुन जाँदै गर्दा भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले पार्टी चुनावी तयारीमा सक्रिय रूपमा जुटिरहेको भए पनि समग्र राजनीतिक तथा प्रशासनिक वातावरणप्रति चिन्ता व्यक्त गरे।
उनले निष्पक्ष र भयरहित वातावरण सुनिश्चित गर्ने जिम्मेवारी सरकारको रहेको उल्लेख गर्दै यस विषयमा सरकारले गम्भीर रूपमा ध्यान दिनुपर्ने बताए।
यसअघि अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर ५ अन्तर्गत कमल, गौरादह र गौरीगञ्जका विभिन्न टोलमा पुगेर मतदातासँग भेटघाट गरेका थिए। स्थानीय कार्यकर्ता तथा समर्थकसँगको भेटमा उनले विकास, स्थायित्व र सुशासनका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता दोहोर्याएका थिए।
झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीको चुनावी अभियान यसपटक दमक केन्द्रित रहने जनाइएको छ। २०४८ सालको आम निर्वाचनदेखि सोही क्षेत्रबाट निरन्तर निर्वाचित हुँदै आएका उनी यसपटक पनि सोही भूगोलबाट प्रतिस्पर्धामा छन्।


प्रतिक्रिया दिनुहोस्