उनेपाकाे प्रतिवद्धता पत्रः स्थानीय मदिरा र गाँजा प्रशोधन गरी ब्रान्डिङ गर्ने


काठमाडाैँ । उज्यालो नेपाल पार्टी (उनेपा) ले आगामी २०८२ प्रतिनिधि सभा निर्वाचनका लागि आज आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ। पार्टीले उद्योग र व्यापार क्षेत्रमा नयाँ प्रवर्धनका कार्यक्रम अघि सार्ने जनाएको छ।

प्रतिवद्धता पत्रअनुसार हिमाली पानीलगायतका उत्पादनहरू नियमनसहित स्थानीय मदिरा र गाँजा प्रशोधन गरी ब्रान्डिङ गरिनेछ र विश्व बजारमा निर्यात प्रवर्धन गरिनेछ। यसले स्थानीय उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ।

पार्टीले देशभरका उद्योग हबहरूलाई आधुनिक पूर्वाधारयुक्त बनाउँदै सडक सञ्जाल विस्तार मार्फत आयात–निर्यात तथा आन्तरिक व्यापार सहज बनाउने योजना बनाएको छ। उद्योग क्षेत्रमा विशेष प्राथमिकता दिँदै एकद्वार प्रणालीमार्फत कर र विद्युतमा विशेष सहुलियत प्रदान गरी लगानी आकर्षित गरिनेछ।

त्यसैगरी बन्द रहेका वा घाटामा सञ्चालित उद्योगहरूलाई पीपीपी मोडेलमार्फत पुनः सञ्चालनमा ल्याएर रोजगारी सिर्जना गर्ने योजना पनि प्रतिवद्धतामा समावेश गरिएको छ।

उनेपाका अनुसार यी कार्यक्रमहरूले उद्योग–व्यापार प्रवर्द्धन मात्र नभई समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।