काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको १५ दिने प्रचारप्रसार अवधि सुरु हुनुअघि आयोजित पत्रकार भेटघाटमा उहाँले आचारसंहिता उल्लंघनका घटनामा आयोगले ‘शून्य सहनशीलता’ नीति अवलम्बन गर्ने स्पष्ट पारे। कार्यतालिकाअनुसार फागुन ३ गते राति १२ बजेदेखि १८ गते राति १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाइनेछ । यस अवधिमा जुलुस, आमसभा, कोणसभा तथा सञ्चार माध्यममार्फत प्रचार सामग्री प्रसारण गर्न अनुमति हुनेछ ।
फागुन १८ गते राति १२ बजेपछि ‘मौन अवधि’ सुरु हुने र त्यसपछि कुनै पनि प्रकारको प्रचारप्रसार, प्रभाव पार्ने गतिविधि वा सार्वजनिक अभिव्यक्ति गर्न नपाइने आयोगले जनाएको छ ।
आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्ने, जरिवाना गर्ने, उम्मेदवारी खारेज गर्नेसम्मको कारबाही हुनसक्ने चेतावनी दिइएको छ । उल्लङ्घन ठहर भएमा ६ वर्षसम्म कुनै पनि राजनीतिक प्रतिस्पर्धामा भाग लिन नपाउने निर्णयसमेत गर्न सकिने आयुक्त भण्डारीले जानकारी दिए । यसपटक अनुगमनकर्तालाई घटनास्थलमै कारबाही गर्न सक्ने अधिकार प्रत्यायोजन गरिएको छ ।
आर्थिक पारदर्शिताका लागि हरेक उम्मेदवार र दलले छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ । २५ हजार रुपैयाँभन्दा माथिको सहयोग वा खर्च अनिवार्य रूपमा बैंकिङ माध्यमबाट गर्नुपर्नेछ र त्यही विवरण आधिकारिक मानिने आयोगले जनाएको छ । बैंक खाता खोल्न बाँकी उम्मेदवारलाई सहजीकरण गर्न वाणिज्य बैंकका प्रतिनिधिसँग छलफल भइरहेको जानकारी दिइएको छ ।
सामाजिक सञ्जालमा राजनीतिक विज्ञापन गर्न पाउने व्यवस्था भए पनि मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्तिमाथि कडा निगरानी गरिने आयोगले जनाएको छ । संगठित रूपमा फैलाइने झुटा सूचनाले निर्वाचनको निष्ठामा असर पार्न सक्ने भन्दै सामाजिक सञ्जाल कम्पनीहरूसँग सहकार्य गरी नियमन गरिने बताइएको छ ।
यसपटकको निर्वाचनमा उल्लेख्य सङ्ख्यामा नयाँ मतदाता थपिएका छन् । तीमध्ये युवाको बाहुल्यता रहेको आयोगको भनाइ छ । युवा मतदाता सचेत र शिक्षित भएकाले मतदाता शिक्षा प्रभावकारी हुने र बदर मत घट्ने अपेक्षा गरिएको छ । ७५३ वटै स्थानीय तहमा स्वयंसेवकमार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ ।
आयोगले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्न सबै सरोकारवालासँग सहयोगको अपिल गरेको छ । मतदातालाई निर्वाध रूपमा मत प्रयोग गर्ने वातावरण सुनिश्चित गर्नु सबैको दायित्व भएको आयुक्त भण्डारीले उल्लेख गरे ।
सरकारी स्रोत–साधनको दुरुपयोग नगर्न मन्त्रीहरूलाई सजग गराइएको छ भने आमसभापछि फोहोर व्यवस्थापन स्वयंले गर्नुपर्ने आचरणको पालना गर्नसमेत जोड दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्