भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण र मृत्युदण्डसम्मको सजायको प्रस्तावसहित नेमकिपाद्वारा घोषणा पत्र सार्वजनिक


काठमाडाैँ । काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपाल मजदुर किसान पार्टी ले आगामी निर्वाचनलाई लक्षित गरी घोषणा पत्र सार्वजनिक गरेको छ। पार्टीले भ्रष्टाचार नियन्त्रणलाई मुख्य एजेण्डा बनाउँदै ठूला भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने धारणा अघि सारेको छ।

पार्टीका सचिव प्रेम सुवाल ले गम्भीर प्रकृतिका भ्रष्टाचारमा संलग्न व्यक्तिलाई कडा कारबाही स्वरूप मृत्युदण्डसम्मको सजायको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको जानकारी दिए।

नागरिकता सम्बन्धी प्रावधान संशोधन गर्नुपर्ने, जन्मका आधारमा नागरिकता पाएकाका सन्तानलाई वंशज नागरिकता दिने व्यवस्था खारेज गर्न पहल गरिने पनि घोषणा पत्रमा समेटिएको छ। बुबाआमा दुवै वंशज नेपाली नागरिक भएका सन्तानलाई मात्र वंशज नागरिकता दिनुपर्ने माग पार्टीले दोहोर्‍याएको छ।

त्यस्तै विश्वविद्यालयका पदाधिकारी, संवैधानिक आयोगका अधिकारी, सेना–प्रहरी प्रमुख तथा न्यायाधीशहरू सम्बन्धित क्षेत्रबाट निर्वाचित गराएर नियुक्त गर्ने प्रणालीको पक्षमा आवाज उठाइने प्रतिवद्धता जनाइएको छ। स्वास्थ्य बीमा सेवालाई थप प्रभावकारी बनाउँदै सर्वसाधारणको पहुँच विस्तार गरिने सचिव सुवालको भनाइ छ।

सहकारीमार्फत घरघरमा रोजगारी सिर्जना, कुटीर तथा साना उद्योग प्रवर्द्धन गरी सहकारी क्षेत्रमा देखिएको ठगी नियन्त्रण गर्ने योजना पनि घोषणा पत्रमा समेटिएको छ।

कृषि उत्पादन वृद्धि गर्न सिँचाइ नहर निर्माण, मल कारखाना स्थापना र गुणस्तरीय बीउबिजनको व्यवस्थापनका लागि संघर्ष गरिने प्रतिबद्धता समेत पार्टीले व्यक्त गरेको छ।