काठमाडाैँ । नेपाल सरकारले नेपाली श्रमिकहरूका लागि राम्रो आयआर्जन र मानवअधिकारको वातावरण भएका पूर्वी युरोपेली मुलुकहरूसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने प्रयास तिब्र पारेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले क्रोएसिया, माल्टा लगायत १६ वटा युरोपेली मुलुकसँग श्रम सम्झौताका लागि औपचारिक प्रश्ताव पठाएको छ ।
श्रम मन्त्रालयका सहसचिव पिताम्बर घिमिरेकाअनुसार राम्रो वातावरण भएका देशहरुमा नेपालीहरुलाई रोजगारीका निम्ति पठाउन श्रम सम्झौताका लागि गृहकार्य भइरहेको बताए ।
उनकाअनुसार १६ देशसँग प्रश्ताव पठाइएको छ । परराष्ट्र मन्त्रालय र नेपालका सम्बन्धित दुतावासहरूले पनि यी मुलुकहरूसँग छलफल तथा पहल अघि बढाइरहेका छन् । सम्झौताको खाका र अनुरोधसहित प्रस्ताव पठाइएको बताउँदै उनले छिट्टै परिणामुखी सम्झौता हुने बताए ।
सहसचिव घिमिरेले भने, “जहाँ मानवअधिकार काम गर्ने वातावरण छ, नेपालीले धेरै राम्रो आय आर्जन गर्न सकिरहेका छन् ती मुलुकसँग नेपालले श्रम सम्झौता गर्न खोजिरहेको छ । ती देशहरुसँग श्रम सम्बन्ध विस्तार गर्नुपर्छ भनेर खासगरी पूर्वी युरोपका मुलुकहरुमा १६ वटा मुलुकसँग दुईपक्षीय श्रम सम्झौता गर्न प्रस्ताव पठाएका छौँं । अहिले रोमनियाबाहेक अरु हुन सकिरहेको छैन । यो प्राथमिकतामा छ । सम्झौताको प्रश्तावसहित अनुरोध गरिरहेका छौं । परराष्ट्र मन्त्रालय र हाम्रा दुतावासहरुले पहल समेत गरिरहेका छन । क्रोसिया,माल्टासहितका १६ ओटा युरोपेली मुलुकसँग श्रम सम्झौताका लागि प्रश्ताव पठाइएको छ । जहाँ व्यक्तिगत श्रम स्वीकृति लिएर धेरै नेपालीहरु गएका पनि छन् । ती देशसँग श्रम सम्झौताका लागि प्रश्ताव पठाइएको छ ।”
अहिले क्रोएसिया, माल्टासहितका देशहरूमा व्यक्तिगत श्रम स्वीकृति लिएर धेरै नेपालीहरू गएका छन् । अब संस्थागत रूपमा सुरक्षित र मर्यादित रोजगारीका लागि सम्झौता सरकारले गर्न खोजिरहेको छ ।
पछिल्ला वर्षहरूमा युरोपेली मुलुकहरू (विशेष गरी रोमानिया, क्रोएसिया, पोल्याण्ड, माल्टा, साइप्रस, पोर्चुगल नेपाली वैदेशिक रोजगारीका आकर्षक गन्तव्य बन्दै गएका छन् ।
यी देशहरूमा नेपाली कामदारहरूको संख्या बढ्दो छ, तर श्रम सम्झौता नहुँदा ठगी, शोषण र असुरक्षाको जोखिम रहँदै आएको छ । रोमानियासँग भने केही वर्षअघि नै श्रम सम्झौता भइसकेको छ, जसलाई अन्य मुलुकहरूका लागि उदाहरण मानिएको छ ।


प्रतिक्रिया दिनुहोस्