निर्वाचन प्रयोजनका लागि ६ सय ७१ उम्मेदवारले मात्रै खोले बैङ्क खाता


काठमाडौँ । निर्वाचन प्रचारप्रसारका लागि अनिवार्य रूपमा बैङ्क खातामार्फत रकम जम्मा तथा खर्च गर्नुपर्ने व्यवस्थाअनुसार हालसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैङ्क खाता खोलेका छन् ।

कुल ३ हजार ४ सय ६ जना उम्मेदवारमध्ये यो सङ्ख्या करिब २० प्रतिशत मात्र रहेको निर्वाचन आयोग का प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचारप्रसारका लागि आवश्यक रकम बैङ्क खातामार्फत नै सञ्चालन गर्नुपर्ने व्यवस्था यसअघि नै लागू गरिसकेको छ । सोहीअनुसार आयोगको अनुरोधमा नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई उम्मेदवारहरूको खाता खोल्ने कार्यमा सहजीकरण गर्न परिपत्र जारी गरेको छ । अहिले देशभर राजनीतिक दल र उम्मेदवारहरूले बैङ्क खाता खोल्ने प्रक्रिया अघि बढाइरहेका छन् ।

प्रवक्ता भट्टराईका अनुसार खाता खोल्ने क्रममा देखिएका समस्याबारे बैंक तथा वित्तीय संस्थाबाट जानकारी संकलन गरी आयोगले आवश्यक सहजीकरण गर्नेछ । खोलिएका खाताको सञ्चालन प्रयोजन, व्यवस्थापन प्रक्रिया तथा बैङ्क हरूले निर्वाह गर्नुपर्ने दायित्वबारे स्पष्ट पार्न सोमबार आयोगले छलफल कार्यक्रमसमेत आयोजना गरेको थियो । छलफलमा नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर तथा अर्थ मन्त्रालयका सम्बन्धित सहसचिवको सहभागिता रहेको थियो ।

बैङ्क तथा वित्तीय संस्थाहरूले निर्वाचन खर्चलाई पारदर्शी र व्यवस्थित बनाउन लागू गरिएको बैङ्क खाता प्रणालीमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रवक्ता भट्टराईले बताए । वित्तीय सुशासन कायम गर्ने सन्दर्भमा आयोगको अपेक्षाअनुसार सहयोग प्राप्त भएको उनको भनाइ छ ।

यसै सन्दर्भमा आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाउन बैङ्क तथा वित्तीय संस्थाले सञ्चालन गर्ने मोबाइल एप, एटीएम मेसिन तथा डिजिटल डिस्प्लेहरूमा मतदाता शिक्षा सामग्री समावेश गर्न अनुरोध गरेको छ । यस विषयमा पनि बैङ्क तथा वित्तीय संस्थाहरू सकारात्मक देखिएको आयोगले जनाएको छ ।