आगामी निर्वाचनपछि नेकपा पहिलो शक्ति बन्ने सापकोटाको दाबी


काठमाडौँ । अग्निप्रसाद सापकोटा ले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनपछि आफ्नो पार्टी देशको पहिलो शक्तिका रूपमा उदय हुने दाबी गरेका छन् ।

मंगलबार नेपाली कम्युनिष्ट पार्टी को केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता सापकोटाले देशभरबाट प्राप्त रिपोर्ट र कार्यकर्ताको उत्साहका आधारमा पार्टी पहिलो शक्ति बन्ने निश्चित भएको बताएका हुन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन फागुन २१ गते देशभर हुँदैछ । सोही निर्वाचनमार्फत नेकपा सबैभन्दा ठूलो शक्ति बन्ने उनको दाबी छ । उनले देश जटिल र संवेदनशील अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो अवस्थामा केही दलले निर्वाचन नचाहेको भए पनि आफ्नो पार्टीले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने अडान लिएको बताए । “हाम्रो अडान वस्तुगत परिस्थितिको सही विश्लेषण थियो भन्ने पुष्टि भएको छ,” उनले भने।

सापकोटाका अनुसार मुलुक अहिले दुई प्रकारका अतिवादको चेपुवामा परेको छ । एकातिर दलाल र विचौलियाको आडमा कुशासन चलाउने र युवाको आन्दोलन दमन गर्ने प्रवृत्ति रहेको तथा अर्कोतर्फ जनभावनालाई दुरुपयोग गर्दै राष्ट्रिय सम्पत्तिमाथि आक्रमण र आगजनी गर्ने अराजक प्रवृत्ति देखिएको उनको भनाइ छ । दुवै प्रकारका अतिवाद राष्ट्रिय स्वाधीनता र समृद्धिका लागि हानिकारक रहेको उनले स्पष्ट पारे ।

निर्वाचनका क्रममा केही सञ्चारमाध्यमले पत्रकारिताको न्यूनतम मान्यता र आचारसंहिता विपरीत भ्रामक सूचना फैलाएर पार्टीलाई अवमूल्यन गर्न खोजेको भन्दै उहाँले आपत्ति जनाए । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्ने गतिविधिविरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने र प्रेस काउन्सिल नेपाल ले निष्पक्ष अनुगमन गर्नुपर्ने उनको माग छ । विशेषगरी निर्वाचनलाई प्रभावित पार्ने गरी गरिने मत सर्वेक्षणप्रति सञ्चारजगत सचेत हुनुपर्ने उनले जोड दिए ।

पत्रकारहरूको जिज्ञासाको उत्तर दिँदै सापकोटाले देशभरबाट आएको रिपोर्ट र जनउत्साहका आधारमा पार्टी पहिलो शक्ति बन्ने निष्कर्षमा नेतृत्व पुगेको दाबी गरे । साथै उनले पार्टीका प्रतिबद्धता र आगामी रोडम्यापको गहिरो मूल्यांकन गरी विवेकपूर्ण निर्णय गर्न सम्पूर्ण मतदातालाई आग्रह गरे ।