महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तको दक्षिणासहित बिदाइ


काठमाडाैँ । महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ ।
साधुसन्तलाई मंगलवार गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित बिदाइ गरेका हुन् । साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र धुनीको व्यवस्था संस्थान र कोषले नै गरेको थियो ।

कोषले साधुसन्तहरुको वर्गीकरण गर्दै त्यहीअनुसार दक्षिणा दिँदै आएको छ । नागाबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सयासी र सामान्य बाबाको वर्गीकरण गरी दक्षिणा दिने प्रचलन रहेको छ ।

गुठी संस्थानको पशुपति शाखा कार्यालयकी प्रमुख सुशीला शर्माले साधुसन्तहरूको मुखियाले भनेअनुसार बाबाहरूको वर्गीकरण गरेर दशिक्षा दिइएको बताइन् ।

उनका अनुसार महाशिवरात्रिका लागि विभिन्न स्थानबाट आएका साधुसन्तलाई फागुन कृष्ण औँसीका दिन दक्षिणासहित बिदाइ गर्ने प्राचीन परम्परा रहेको छ । साधुसन्त बिदाईकै लागि गुठी संस्थानले छुट्याएको बजेटमा आधा रकम थप गर्दै कोषले साधुसन्तको बिदाइ गरेको हो ।