काठमाडौँमा फलफूल, तरकारी र दूधमा जीवनाशक विषादी परीक्षण, केही नमूनामा अनियमितता 


काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँमा फलफूल, तरकारी र दूधको नमूनामा जीवनाशक विषादी परीक्षण गरेको छ।

गत फागुन १ राति ११ बजेदेखि २ गते बिहान ३ बजेसम्म काठमाडौँ–नागढुङ्गा नाकाबाट भित्रिने २१ वटा सवारी साधनमा रहेका खाद्य वस्तुको नमूना सङ्कलन गरी मोबाइल खाद्य प्रयोगशाला भ्यानमार्फत आरबीपीआर विधिबाट परीक्षण गरिएको हो।

परीक्षण अनुसार काँक्रो, टमाटर, सिमी, बरेला, गाँजर, शिमला मिर्च, घिउ सिमी, काउली, बन्दा, मुला, सलगम, ब्रोकाउली, फर्सी, हरियो मटर, कोसा र केरामा जीवनाशक विषादीको अवशेषको अवस्था सङ्कलित स्थान अनुसार फरक देखिएको छ।

नुवाकोट, धादिङ, मकवानपुर, रौतहट, चितवन लगायतका स्थानबाट ल्याइएका खाद्य वस्तु कालीमाटी, धुम्वाराही, कुलेश्वर र बल्खुका बजारमा बिक्री वितरण भएका थिए। ३८ नमूनामा परीक्षण गर्दा अधिकांशमा मानकअनुसार विषादीको मात्रा सामान्य रहे पनि केही नमूनामा अनियमितता देखिएको छ।

त्यसैगरी दूधका दुई नमूनामा पनि परीक्षण गरिएको थियो। चितवन र नवलपरासीबाट सङ्कलन गरिएका कच्चा दूधको नमूनामा आरबीपीआर विधिबाट परीक्षण गर्दा एनजाइम इनहिबिसन ३५ प्रतिशत नाघेको पाइएको छ। दूध परीक्षणको क्रममा तापक्रम ६ डिग्री सेल्सियसमा परीक्षण गरिएको थियो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सर्वसाधारणलाई सचेत रहन र केवल विश्वसनीय स्रोतबाट फलफूल, तरकारी र दूध खरिद गर्न अनुरोध गरेको छ।