एल जी ग्लुकोजको अनियमित उत्पादनमा रोक्का


काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चन्द्रागिरी नगरपालिका-१५ मा अवैध रूपमा उत्पादन तथा बिक्री भइरहेको ग्लुकोजलाई रोक्का गरेको छ।

विभागले गत माघ २५ गते प्राप्त उजुरीको आधारमा रेपिड रेस्पोन्ड मोडालिटी अन्तर्गत निरीक्षण गर्दा एल जी ग्लुकोज प्याकेजिङ्गले खाद्य उत्पादन अनुमति नलिई ग्लुकोज उत्पादन गरी बिक्री वितरण गर्दै आएको पाइएको छ।

जाँचका क्रममा कुल ४०० केजी ग्लुकोज रोक्का गरिएको छ भने थप परीक्षणका लागि एक थान सर्भिलेन्स नमूना सङ्कलन गरिएको छ।

विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३५ अनुसार अनुमतिपत्र नलिई उत्पादन गरिएको ग्लुकोज विक्री वितरण नगर्न निर्देशन दिएको छ।

खाद्य व्यवसायी तथा उपभोक्ताहरुलाई सचेत रहन र मात्र प्रमाणित तथा अनुमतिपत्र प्राप्त खाद्य सामग्रीको प्रयोग गर्न विभागले आग्रह गरेको छ।