काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले सञ्चार माध्यमहरुलाई निर्वाचनअघि मत सर्वेक्षणको नतिजा सार्वजनिक नगर्न आग्रह गरेका छन्।
मंगलबार काठमाडौँमा आयोजित मतदाता शिक्षा तथा निर्वाचन प्रचार-प्रसारका लागि सामाजिक सञ्जालका लोकप्रिय संघ, संस्था र कलाकारहरूसँगको छलफल कार्यक्रममा उनले मतदाता निर्णयलाई प्रभावित पार्ने सम्भावना भएको भन्दै चेतावनी दिए ।
भण्डारीले भने, “मतदाताको स्वतन्त्र निर्णयलाई दिग्भ्रमित तुल्याउने, उम्मेदवारलाई हतोत्साहित गर्ने र प्रतिष्पर्धाको वातावरणमा खलल पुर्याउने किसिमका मत सर्वेक्षण र नतिजा सार्वजनिक गर्ने काम नगर्न आयोगको तर्फबाट विनम्र अनुरोध गर्दछु। प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई धराशायी बनाउन सक्छ, त्यसैले यसतर्फ सबैले गम्भिर हुनु आवश्यक छ।”
उनले आर्टिफिसियल इन्जिनको प्रयोग गरी सिर्जना गरिएका भ्रामक सामग्री सामाजिक सञ्जालमा प्रचार-प्रसार नगर्न पनि सञ्चारकर्मी र सम्बन्धित पक्षसँग अनुरोध गरे ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता २०८२ को पूर्ण पालना गर्ने जिम्मेवारी सबैले बुझेर काम गर्नुपर्ने कुरामा जोड दिए ।


प्रतिक्रिया दिनुहोस्