स्याङ्जामा ट्याक्सीबाट लागू औषध बरामद, चार जना पक्राउ


काठमाडाैँ । स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीस्थित सिद्धार्थ राजमार्गबाट प्रहरीले लागू औषधसहित चार जनालाई पक्राउ गरेको छ।

गत साेमबार राति करिब ११ बजे वडा प्रहरी कार्यालय वालिङ र अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारी जाँचका क्रममा बुटवलबाट पोखरा आउँदै गरेको ग.१ ज २२९० नम्बरको ट्याक्सी रोकेको थियो।

चेकजाँचका क्रममा ट्याक्सीको सिटमुनी लुकाएर राखिएको अवस्थामा विभिन्न प्रकारका लागू औषध फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा जिल्ला कास्की, पोखरा महानगरपालिका–१७ बस्ने ३३ वर्षीय बिनोद विक, ३४ वर्षीय नरेन्द्र भुजेल, ३० वर्षीय मिलन गुरुङ र ३९ वर्षीय राजेन्द्र कामी रहेका छन्।

प्रहरीका अनुसार बरामद गरिएको लागू औषधमा ‘बुप्रेनोर्फिन इन्जेक्सन आइ.पी.’ लेखिएको ६ एम्पुल, ‘प्रोमेथाजिन हाइड्रोक्लोराइड आइ.पी. (फेनर्गन)’ लेखिएको ५ एम्पुल र ‘डायजेपाम इन्जेक्सन आइ.पी. (२ एमएल)’ लेखिएको ५ एम्पुल रहेका छन्।

पक्राउ परेका चारै जनाविरुद्ध लागू औषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी मंगलबार स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।