काठमाडाैँ । केपी शर्मा ओलीले उम्मेदवारहरूबिच हुने सार्वजनिक बहस लोकतन्त्रको पारदर्शिता र उत्तरदायित्वको अभ्यास भएको बताएका छन्। झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका उनी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष हुन्।
झापा–५ मा आयोजित उम्मेदवारहरूबिचको सार्वजनिक बहस कार्यक्रममा सहभागी हुँदै उनले एउटै मञ्चमा बसेर नागरिकका प्रश्नको प्रत्यक्ष जवाफ दिनु लोकतान्त्रिक संस्कृतिको महत्वपूर्ण पक्ष भएको उल्लेख गरे। उम्मेदवारले जनताबाट आएका प्रश्नको आमनेसामने उत्तर दिनु नै पारदर्शिताको उदाहरण भएको उनको भनाइ थियो।
निर्वाचन नागरिकले आफ्ना प्रतिनिधिलाई विश्वासका साथ जिम्मेवारी सुम्पिने प्रक्रिया भएकाले उम्मेदवार जनता समक्ष उपस्थित हुन नहिच्किचाउनुपर्ने उनले बताए। वास्तविक धारणा लुकाउने, तयार पारिएका सामग्रीमार्फत मात्र मतदातालाई प्रभावित पार्ने वा प्रश्नबाट पन्छिने प्रवृत्ति उपयुक्त नहुने उनको टिप्पणी थियो।
उनले आफ्नो राजनीतिक यात्रामा उठेका प्रश्नको जवाफ दिँदै आएको र आलोचना तथा विरोधलाई समेत स्वीकार गर्दै आएको उल्लेख गरे। केही विषयमा आत्मालोचना गर्दै सुधारको प्रयाससमेत गरिएको उनको भनाइ थियो।
सार्वजनिक बहस आयोजना गर्ने आयोजक, सहभागी उम्मेदवार तथा उपस्थित नागरिकप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा पनि नागरिकका प्रश्नको उत्तर दिन सधैँ तयार रहने प्रतिबद्धता जनाए। सचेत निर्णयका लागि मतदातालाई आग्रह गर्दै उनले जनताको साथमै रहने विश्वास व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस्