नेपाललाई सुधार चाहिएको छ, सुधारको ग्यारेन्टी लिएर हामी उभिएका छौँः गगन थापा


काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगन थापाले देश अहिले सुधारको आवश्यक अवस्थामा रहेको बताउँदै सुधारको ग्यारेन्टी लिएर आफूहरु उभिएको बताएका छन्। बुधबार राजधानीमा आयोजित कार्यक्रममा सभापति थापाले आगामी पाँच वर्ष खेर नफाल्ने संकल्प र योजनासहित पार्टी अघि आएको स्पष्ट पारेका हुन् ।

उनले नागरिक तह, विशेषगरी युवा पुस्तामा बढ्दो असन्तोष औंल्याउँदै, वर्तमान शासन सञ्चालनको शैलीप्रति युवाहरूको गुनासो जायज रहेको बताएका छन्। विगत १०–१२ वर्षमा अपेक्षित विकास नहुँदा उत्पन्न कमजोरीलाई सुधार गर्न आवश्यक रहेको उनको भनाइ छ।

सभापति थापाले देश परिवर्तनका लागि केवल आवेग, रिस वा उत्तेजना पर्याप्त नहुने बताउँदै, राजनीतिक दलहरूको सहभागिता र सहकार्य आवश्यक रहेको औंल्याए। उनका अनुसार दलहरूबिच विमति र प्रतिष्पर्धा भए पनि देश बनाउने काममा सबै दलको भूमिका अपरिहार्य छ। यही दृष्टिले नेपाली काँग्रेसले सबै दलसँग समन्वय गरेर अगाडि बढ्ने राजनीति गर्ने दाबी गरेका छन् ।

उनले आगामी निर्वाचनमा पपुलिस्ट शक्तिहरू सत्तामा आएमा त्यसको भार देशले नसक्ने चेतावनी दिए। परिपक्व लोकतन्त्र भएका देशहरू समेत पपुलिजमको प्रभावमा परेको उदाहरण उल्लेख गर्दै, नेपालको जस्तो संस्थागत रूपमा कमजोर लोकतन्त्रका लागि पपुलिजम थप चुनौतीपूर्ण हुने उनको भनाइ छ।

सभापति थापाले भने, “परिपक्व डेमोक्रेसी भएको देशमा पपुलिजम आउँछ र केही महिनामा ढल्छ, किनभने संस्थाहरू बलियो हुन्छन्। हाम्रो सन्दर्भमा संस्थाहरू कमजोर छन्। यदि आवधिक निर्वाचनबाट पपुलिजम अख्तियारी बोकेर आयो भने त्यसको परिणाम गम्भीर हुनेछ। नागरिक, विशेष गरी युवा पुस्ताको ठूलो छटपटाहट छ र त्यसलाई सम्बोधन गर्नु अहिलेको प्राथमिकता हो। हामी सुधारको ग्यारेन्टी लिएर उभिएका छौं र आगामी पाँच वर्ष खेर जान दिन्न।”

उनले देश रिस वा आवेगले मात्र परिवर्तन नहुने र सबै पक्षको समन्वय आवश्यक रहेको पनि जोड दिए । सभापति थापाले बौद्धिक व्यक्तित्व र पेशाकर्मीहरूलाई पपुलिजमको विरुद्धमा बोल्न आग्रह गर्दै अहिलेको परिस्थिति प्रश्न गर्न डराउनु पर्ने अवस्था भएको उल्लेख गरे । तर, सत्तामा नपुग्दा वा पुग्दा पनि प्रश्न गर्न पछि नहट्न आग्रह गर्दै, लोकतन्त्र बचाउन सबैलाई सचेत रहन सुझाव दिए ।