इक्राले नागरिक लगानी कोषलाई दियो ‘ए प्लस’ रेटिङ


काठमाडौँ । आईसीआरए (ईक्रा) नेपाल लिमिटेडले नागरिक लगानी कोषलाई ‘आईसीआरएएनपी–आईआर ए प्लस’ रेटिङ प्रदान गरेको छ।

रेटिङले कोषको वित्तीय दायित्वहरू समयमै तथा पूर्ण रूपमा वहन गर्ने क्षमतामा पर्याप्त सुरक्षा रहेको संकेत गर्ने इक्रा नेपालले जनाएको छ ।

‘ए प्लस’ श्रेणीको रेटिङलाई दायित्व सेवा गर्ने सन्दर्भमा उच्च विश्वसनीयता र सुदृढ वित्तीय अवस्थाको सूचकका रूपमा लिने गरिन्छ।

रेटिङले कोषको लामो सञ्चालन इतिहास, सुदृढ स्वामित्व संरचना तथा अनुभवी व्यवस्थापनलाई मुख्य सकारात्मक पक्षका रूपमा औंल्याएको छ । संस्थामा नेपाल सरकार को प्रत्यक्ष करिब २३.३ प्रतिशत तथा सरकारी प्रवद्र्धित संस्थामार्फत करिब ४१.६ प्रतिशत स्वामित्व छ।

निजी क्षेत्रका बैंक तथा बीमा कम्पनीहरू समेत प्रवद्र्धक भएकाले सञ्चालक समिति अनुभवी रहेको र व्यवस्थापन टोली स्थिर रहेको मूल्याङ्कन गरिएको छ। कोषको आम्दानी संरचना पनि स्थिर रहेको र व्यवस्थापन शुल्कबाट मुख्य हिस्सा आउने तथ्य रेटिङका लागि सकारात्मक मानिएको छ ।

हाल कोषमा करिब सात लाखभन्दा बढी सहभागी आबद्ध रहेका छन्। पछिल्लो रेटिङले कोषको संस्थागत सुदृढता, वित्तीय अनुशासन तथा दीर्घकालीन दायित्व वहन क्षमताप्रति बजारको विश्वास थप सुदृढ हुने अपेक्षा गरिएको छ।

विसं २०४७ सालमा स्थापना भएको नागरिक लगानी कोषले २०४८ माघ १ गतेदेखि औपचारिक रूपमा सेवा सुरु गरेको थियो। कोषले कर्मचारी बचत वृद्धि अवकाश कोष, उपदान तथा पेन्सन योजना, लगानीकर्ता अवकाश कोष योजना, राष्ट्रसेवक कर्मचारीको जीवन बीमा कोष, नागरिक एकांक योजना, नागरिक पेन्सन योजना तथा नेपाल कृषि अनुसन्धान परिषद् बीमा कोष लगायतका विभिन्न सामाजिक सुरक्षा तथा बचतसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ।