सुदूरपश्चिमका मतदातामाझ बालेनले भनेः भोट होइन, काम माग्न आएको हो


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले आफ्नो पार्टीले जनतासँगको विश्वास कायम राखेर काम गरेर देखाउने दाबी गरेका छन्।

बुधबार धनगढीमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उहाँले पार्टीले भोट माग्न नभई जनताको काम माग्न आएको स्पष्ट पारेका हुन् ।

साहले पार्टीको प्राथमिक उद्देश्य सुदूरपश्चिम प्रदेशको विकास र जनताको भलो गर्नु रहेको उल्लेख गर्दै, भोट नदिए पनि कामको सूची उपलब्ध गराउन आग्रह गरे । उनले आफ्नो पार्टीले गरिब र अल्पसङ्ख्यक समुदायको पक्षमा काम गर्ने प्रतिबद्धता दोहोर्याए ।

उनले सभामा भने,“राष्ट्रिय स्वतन्त्र पार्टी तपाईंसँग भोट माग्न आएको होइन, काम माग्न आएको हो। तपाईंहरूले भोट दिनु भएन भने पनि हामी सुदूरपश्चिम बनाउँछौं। के के काम छ, हाम्रा उम्मेदवार र पार्टीका सदस्यलाई लिष्ट दिनुहोस्। भोट नदिएपनि कामको लिष्ट दिनुहोस्, हामी काम गरेर देखाउँछौँ। आँखा हेर्नु पर्दैन, काम देखिन्छ।”

वरिष्ठ नेता साहले जनतासँग प्रत्यक्ष भेट पाउँदा खुशी लागेको समेत व्यक्त गर्नुभयो र सबैलाई आँखा चश्मा खोल्दै कामलाई प्राथमिकता दिन आग्रह गरे ।