काठमाडाैँ । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले सबैको समान अस्तित्व र सहभागिताका लागि काँग्रेसले मधेसबाट प्रतिज्ञापत्र सार्वजनिक गरेको बताएका छन् ।
पार्टी मुख्यालय सानेपामा बुधवार आयोजित पत्रकार सम्मेलनमा उनले मधेसबाट प्रतिज्ञापत्र सार्वजनिक गर्नु आफैँमा सन्देश भएको बताएका हुन् । नेपाल सबैको साझा देश भएकाले हरेक प्रदेश र भूगोललाई समान रूपमा जोड्न आवश्यक रहेको उनले बताए ।
सबै समुदायको समान अस्तित्व र समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा पनि उनले जोड दिए । जनकपुरबाट प्रतिज्ञापत्र सार्वजानिक गर्नुले अपनत्व र समावेशिताको सन्देश प्रवाह गरेको उनको भनाइ छ । काठमाडौँबाट प्रतिज्ञापत्र सार्वजानिक गर्ने चलनलाई परिवर्तन गर्दै मधेसबाटै घोषणा गर्नु राजनीतिक सन्देशसहितको निर्णय भएको उनले बताए ।
उनले पार्टी केवल संरचनागत रूपमा नभई सोच र व्यवहारमा समेत परिवर्तनको दिशामा अघि बढेको दाबी गरे ।
उनका अनुसार काँग्रेसले यसपटकको आफ्नो प्रतिज्ञापत्र मधेस प्रदेशको जनकपुरधामबाट सार्वजनिक गरेको छ । काँग्रेसले भिजन १० मा आधारित भएर प्रतिज्ञापत्र सार्वजानिक गरेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्