दमकमा ओलीको दाबी : भोकमरी अन्त्यतर्फ, गरिबी निवारण अबको लक्ष्य


काठमाडाैँ । केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले) सधैँ गरिब, विपन्न र मजदुर वर्गको हितमा उभिँदै आएको दाबी गरेका छन् ।

झापाको दमकमा आयोजित सिटी रिक्सा चालकहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालमा भोकमरीको अवस्था झन्डै अन्त्य भइसकेको र अबको प्रमुख लक्ष्य पूर्ण रूपमा गरिबी निवारण रहेको बताएका हुन् ।उनले एमालेको प्राथमिकतामा सुकुम्वासी, सानो व्यवसाय गर्ने तथा दैनिक ज्यालादारीमा निर्भर मजदुर वर्ग रहेको उल्लेख गरे ।

कोही भोकै पर्दैन, कोही भोकले मर्दैन भन्ने नीतिका कारण देशमा भोकमरी अन्त्यतर्फ पुगेको उgको दाबी थियो । अहिले नेपालमा खान नपाएर मृत्यु हुने अवस्था नरहेको उल्लेख गर्दै उgले गरिबी अझै चुनौतीका रूपमा रहे पनि त्यसलाई अन्त्य गर्न विभिन्न कार्यक्रम र योजनामार्फत काम भइरहेको बताए ।

पूर्वप्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा सुरू गरिएको स्वास्थ्य बिमा कार्यक्रमको उदाहरण दिँदै सामाजिक सुरक्षाका योजनाहरू जनमुखी रहेको जिकिर गरे । ३ हजार ५ सय रुपैयाँ तिरेर एक लाख रुपैयाँसम्मको उपचार पाउने व्यवस्था जनताकै करबाट सम्भव भएको उल्लेख गर्दै उहाँले सरकार जनताबाट स्रोत सङ्कलन गरेर जनताकै हितमा खर्च गर्ने संरचना भएको स्पष्ट पारे ।

दमकको विकासबारे चर्चा गर्दै उनले विगतको अवस्थासँग तुलना गर्दा अहिले उल्लेखनीय परिवर्तन आएको दाबी गरे । हाल दमकमा पाँच हजारभन्दा बढी सिटी तथा अटो रिक्सा सञ्चालनमा रहेको उल्लेख गर्दै यसलाई स्थानीय आर्थिक गतिविधिको सङ्केतका रूपमा प्रस्तुत गरे । सडक सञ्जाल विस्तार र पिच सडकले नगरको स्वरूप परिवर्तन गरेको उनकाे भनाइ थियो ।

आसन्न निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष ओलीले मजदुर वर्गका समस्या समाधानका लागि निर्वाचनपछि थप ठोस कदम चालिने प्रतिबद्धता जनाए ।

सिटी रिक्सा चालकहरूको समस्या आफूलाई लिखित रूपमा उपलब्ध गराउन आग्रह गर्दै निर्वाचन परिणाम लगत्तै समाधानका लागि पहल गरिने आश्वासन दिए ।