निर्वाचन शान्तिपूर्ण बनाउन सरकारको पूर्ण प्रतिवद्धता छ : प्रधानमन्त्री कार्की


काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वस्थ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकार पूर्णरूपमा प्रतिवद्ध रहेको बताएकी छन् ।

प्रजातन्त्र दिवस तथा निर्वाचन दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले निर्वाचनलाई भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सम्पूर्ण शक्ति परिचालन गरिएको जानकारी दिइन् ।

प्रधानमन्त्री कार्कीले वि.सं. २०१५ साल फागुन ७ गतेदेखि सुरू भएको नेपालको निर्वाचन इतिहासको स्मरण गर्दै त्यस दिनलाई प्रजातन्त्र दिवससँगै निर्वाचन दिवसका रूपमा पनि लिनुपर्ने उल्लेख गरिन्। यस वर्ष पनि सोही फागुन महिनाको २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुन गइरहेको सन्दर्भ जोड्दै उनले यसलाई दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ अध्याय सुरू गर्ने अवसरका रूपमा लिनुपर्ने बताइन् ।

उनले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने सुनिश्चितता व्यक्त गर्दै आगामी निर्वाचनबाट निर्वाचित हुने संसद र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीले संस्कारयुक्त राजनीति, जवाफदेही शासनशैली र सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिइन् ।