चितवनमा प्राङ्गारिक कृषिबारे छलफल, मल उत्पादन र प्रयोगमा बजेट बढाउन सुझाव


काठमाडाैँ । खाद्यका लागि कृषि अभियान र जिल्ला प्राङ्गारिक संघ चितवनको सहआयोजनामा ‘प्राङ्गारिक कृषिः अवसर र चुनौतीहरू’ विषयक छलफल कार्यक्रम बुधबार जिल्ला कृषि विकास कार्यालय चितवनको कार्यालय परिसरमा सम्पन्न भएको छ।

कार्यक्रममा करिब ५० जना सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूमा प्रमुख जिल्ला समन्वय समिति प्रमुख, जिल्ला कृषि विकास कार्यालयका प्रमुख, जनस्वास्थ्य कार्यालय प्रमुख, कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक, किसान, सहकारी प्रतिनिधि, विभिन्न सरकारी निकायका अधिकारी, नागरिक समाजका प्रतिनिधि तथा निजी क्षेत्रका सरोकारवाला लगायत अभियान र जिल्ला प्राङ्गारिक संघका सदस्यहरू उपस्थित रहेका थिए।

छलफलका क्रममा चितवनमा केन्द्रित प्राङ्गारिक कृषिको वर्तमान अवस्था, यसको सम्भावना तथा देखिएका चुनौतीहरूबारे विस्तृत विमर्श गरिएको थियो। जिल्ला प्राङ्गारिक संघ चितवनले जिल्लामा प्राङ्गारिक कृषि प्रवर्द्धनका लागि गरिएका गतिविधि प्रस्तुत गर्दै यस क्षेत्रका अवसर र चुनौतीहरूबारे धारणा राखेको थियो।

त्यसैगरी खाद्यका लागि कृषि अभियानले समुदायस्तरदेखि नीतिगत तहसम्म प्राङ्गारिक कृषि प्रवर्द्धनका लागि गरिएका प्रयास, आगामी योजना तथा अभियानका क्रममा भोगिएका अनुभवहरू सार्वजनिक गरेको थियो।

प्रस्तुतीकरणपछि भएको खुला छलफलमा सहभागीहरूले माटोको स्वास्थ्य संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने, अनुसन्धान तथा कृषि प्रसार प्रणालीलाई सुदृढ बनाउनुपर्ने र प्रारम्भिक तहबाटै कृषि शिक्षामा जोड दिनुपर्ने धारणा व्यक्त गरेका थिए।

साथै रासायनिक मलमा भन्दा प्राङ्गारिक मल उत्पादन र प्रयोगमा बजेट बढाउन आवश्यक रहेको सुझाव पनि राखिएको थियो।

कार्यक्रमले स्थानीय अनुभव र नीति निर्माण प्रक्रियाबिचको सम्बन्ध सुदृढ गर्दै प्राङ्गारिक कृषि प्रवर्धनका अवसर र चुनौतीबारे साझा समझदारी निर्माण गर्ने अवसर प्रदान गरेको आयोजक पक्षले जनाएको छ।