रास्वपा बागमती प्रदेश उपसभापति हुमागाईंले छोडे रास्वपा,आन्तरिक विकृति र नेतृत्वमाथि उठाए प्रश्न


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश उपसभापति दिनेश हुमागाईंले पार्टीको पद र साधारण सदस्यताबाट औपचारिक रूपमा राजीनामा दिएका छन्।

हुमागाईंले पार्टीभित्र मौलाउँदै गएको संरचनागत विकृति, आन्तरिक लोकतन्त्रको ह्रास र नेतृत्वको नैतिक विचलनलाई राजीनामाको मुख्य कारण बताएका हुन्।

हुमागाईंले आफ्नो प्रेस विज्ञप्तिमा पार्टीभित्रको अनेकौं समस्याको उल्लेख गरेका छन्। उनले उम्मेदवार छनोटमा धाँधली भएको आरोप लगाउँदै भर्खरै आएका र ‘चटके’ प्रवृत्तिका व्यक्तिहरूलाई प्राथमिकताका साथ उम्मेदवार बनाइएको दाबी गरे। उनको अनुसार, पहुँचवालाको चाकरी गर्ने ‘गणेश प्रवृत्ति’ भएका व्यक्तिहरूलाई मनोनयन दिइएको छ।

अर्को मुद्दा आर्थिक अपारदर्शिता रहेको उनले बताए। पार्टीले सदस्यता शुल्क र उम्मेदवार आवेदन शुल्कमार्फत सङ्कलन गरेको ठूलो रकमको लेखाजोखा सार्वजनिक नभएको र तल्लो तहमा पठाइने भनिएको रकम पनि उपलब्ध नभएको हुमागाईंकाे आरोप छ।

पार्टी नेतृत्वमाथि नैतिक प्रश्न उठाएको पनि उनले बताए। पार्टी सभापति रवि लामिछाने जोडिएको सहकारी प्रकरण र भावी प्रधानमन्त्रीको रूपमा प्रस्ताव भएका बालेन्द्र शाहको नागरिकता विवादले पार्टीको विश्वसनीयतामा चोट पुर्‍याएको उनको भनाइ छ।

हुमागाईंले पार्टीलाई निजी कम्पनी जस्तो चलाइएको, तल्लो तहका कार्यकर्तालाई दास जस्तो व्यवहार गरिएको र विधान उल्लङ्घन भएको आरोप पनि लगाए।

हुमागाईंले आफ्नो निर्णयलाई पहिले आफू स्वच्छ र जिम्मेवार बनेर मात्र देश बनाउन सकिने भन्ने मान्यताको आधारमा लिएको बताएका छन्। उनी २०७९ सालको निर्वाचनमा काभ्रे क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फको उम्मेदवार समेत थिए।