काठमाडाैँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्नु कानूनी रूपमा निषेधित रहेको स्पष्ट पारेका छन्।
बिहीबार १० औँ निर्वाचन दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले निर्वाचन आचारसंहिताले कुनै पनि व्यक्ति वा संस्थाले मत सर्वेक्षण गरेर परिणाम सार्वजनिक गर्न रोक लगाएको बताएका हुन् ।
उनका अनुसार केही अनलाइन मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताले संविधानको धारा १९ अनुसार अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित भएको गुनासो उठाए पनि, निर्वाचनको पूर्वसन्ध्यामा मत सर्वेक्षण गरेर नतिजा घोषणा गर्दा अन्य प्रतिस्पर्धीको मनोबल घट्ने र मतदातामा भ्रम पर्न सक्ने भएकाले यस्तो कार्य कारबाहीको विषय बन्नेछ।
उनले भने, “कुनै पनि प्रेससँग सम्बन्धित व्यक्ति वा संस्थाले फलानोले जित्यो वा फलानोले हारे भनेर अग्रिम घोषणा गर्न पाइँदैन। निर्वाचन आयोगले यसमा शून्य सहनशीलताको नीति अपनाएको छ।”
उनले सामाजिक सञ्जालको दुरुपयोग बढ्दो क्रममा रहेको भन्दै आयोगले यस सम्बन्धमा अध्ययन तथा अनुसन्धान गरिरहेको जानकारी दिए । उनले सामाजिक सञ्जालमार्फत कसैको चरित्र हत्या गर्ने वा अतिरञ्जित रूपमा प्रस्तुत गर्ने कार्य नगर्न सबैलाई सचेत गराए ।
उनले भने,“सामाजिक सञ्जालमा आएका सबै विषयवस्तु सही नठान्नुपर्छ। प्रयोगकर्ताले अनावश्यक विषय प्रचार प्रसार नगर्नुपर्छ। आचारसंहिता पालना नगर्ने सबैले कारबाहीको भागिदार हुनुपर्नेछ।”


प्रतिक्रिया दिनुहोस्