रास्वपा वाचापत्र : कृषि पुनरुत्थानमार्फत अर्थतन्त्र बलियो बनाउने प्रतिबद्धता


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कृषि क्षेत्रलाई अर्थतन्त्रको मूल आधारका रूपमा पुनःस्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। आज कर्णाली प्रदेशबाट आफ्नो वाचापत्र सार्वजनिक गर्दै पार्टीले अनिश्चितताको घेराभित्र रहेको कृषि क्षेत्रलाई नीतिगत स्थायित्व, स्थिर बजार, पारदर्शी अनुदान प्रणाली, विश्वसनीय बीमा व्यवस्था, पर्याप्त सिंचाइ र प्रविधिमा आधारित उत्पादन प्रणालीमार्फत पुनर्जीवित गर्ने घोषणा गरेको हो।

वाचापत्रमा ‘नेपालमा कृषि गरेर धनी हुन सकिन्छ’ भन्ने विश्वास स्थापित गर्दै कृषिलाई सम्मानजनक पेशाका रूपमा विकास गर्ने लक्ष्य अघि सारिएको छ। कृषिलाई उत्पादन र व्यापार सन्तुलनको विषयमा मात्र सीमित नराखी खाद्य सुरक्षा र पौष्टिक सुरक्षाजस्ता राष्ट्रिय लक्ष्यसँग जोडेर मुख्य प्राथमिकताको क्षेत्रका रूपमा अघि बढाइने उल्लेख गरिएको छ।

उत्पादकत्व वृद्धि र कृषकको बृहत्तर हित सुनिश्चित गर्न आवश्यक नीति तथा कार्यक्रम तर्जुमा, निजी क्षेत्रमैत्री लगानी वातावरण, पूर्वाधार निर्माण र पर्याप्त स्रोत विनियोजन गरिने प्रतिबद्धता पार्टीले जनाएको छ।

आयात प्रतिस्थापनलाई टेवा पुग्ने गरी व्यापार सम्झौता गर्ने, नेपालमै उत्पादन सम्भव भएका कृषि उपजमा आत्मनिर्भरता हासिल गर्न ऐन–कानुन, भन्सार तथा नीतिगत सुधार तत्काल गर्ने पनि वाचापत्रमा उल्लेख छ।

कृषि उपजको प्रशोधन र मूल्य अभिवृद्धि गर्ने उद्योगलाई विशेष प्राथमिकता दिँदै कर छुट, भन्सार सहुलियत तथा लगानी प्रोत्साहनका प्रभावकारी उपाय लागू गरिने जनाइएको छ। साथै प्रविधिको प्रयोगमार्फत उत्पादकत्व बढाउन ‘फिनटेक’ र ‘एग्रिटेक’को विस्तारमा जोड दिइने उल्लेख गरिएको छ।

भू-उपयोग योजनाको पुनरावलोकन गर्दै बाँझो जमिनको उपयोग, चक्लाबन्दी तथा जग्गा एकीकरणलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिने वाचा गरिएको छ।

सिंचाइ, रासायनिक मल तथा कृषि यान्त्रीकरणमा प्राथमिकताका साथ लगानी वृद्धि गरी उत्पादन लागत घटाउने र उत्पादन वृद्धि गर्ने लक्ष्य पार्टीले राखेको छ।

जलवायु अनुकूलन, मूल्य शृङ्खला विकास तथा समग्र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यसहित कृषि अनुसन्धान परिषद्को पुनर्संरचना गरिने पनि वाचापत्रमा उल्लेख छ। कृषि क्षेत्रको संरचनात्मक सुधारमार्फत दीर्घकालीन आर्थिक स्थायित्व हासिल गर्ने दाबी रास्वपाले गरेको छ।