लोकतन्त्र जनताले जोगाउँछन्, कुनै नेताले ठेक्का लिनुपर्दैनः सभापति लामिछाने


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्र जोगाउने जिम्मेवारी जनताकै हातमा रहेको बताएका छन्। बिहीबार कर्णालीमा आयोजित कार्यक्रममा उनले लोकतन्त्रको ठेक्का कुनै नेता वा राजनीतिक दलले लिन नपर्ने स्पष्ट पारेका हुन् ।

उनले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रति लक्षित टिप्पणी गर्दै लोकतन्त्रलाई खतरा देखाएर डर देखाउने प्रयास भइरहेको आरोप लगाए। “लोकतन्त्रलाई खतरा थियो भने त्यो खतरा हेलिकप्टर चढेर भागिसकेको छ,” उनले भने, “अब त्यो हेलिकप्टर सिंहदरबार वा बालुवाटारमा फेरि ल्याण्ड नभएसम्म लोकतन्त्र सुरक्षित रहन्छ।” जनताको भाग्य फेर्ने थलो सिंहदरबार भएकाले त्यहाँ गलत प्रवृत्ति नफर्कियोस् भन्नेमा आफूहरू सचेत रहेको उनको भनाइ थियो।

उनका अनुसार लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति जनताको मताधिकार हो र परिवर्तन भोटबाटै सम्भव छ। आन्दोलनभन्दा पनि मतमार्फत परिवर्तन चाहेको स्पष्ट पार्दै उनले रगतको एक थोपा पनि नबगाई लोकतान्त्रिक प्रतिस्पर्धाबाट अघि बढ्न चाहेको बताए।

सरकारले शान्तिपूर्ण निर्वाचनको प्रत्याभूति दिनुपर्ने माग गर्दै उनले रास्वपा लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रतिबद्ध रहेको उल्लेख गरे। लोकतन्त्रप्रति अत्यधिक चिन्ता भए सबै दल एकजुट भएर चुनावी मैदानमा उत्रिन पनि उनले चुनौती दिए।

कर्णालीजस्तो पछाडि परेको प्रदेशबाट वाचापत्र सार्वजनिक गरेर नयाँ सन्देश दिन खोजिएको दाबी गर्दै उनले अब कुनै पनि क्षेत्र विकास र अवसरबाट वञ्चित नहुने बताए।