काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभाका उम्मेदवारहरूलाई निर्वाचन प्रयोजनका लागि अनिवार्य रूपमा बैङ्क खाता खोल्न ढिलाइ नगर्न ताकेता गरेको छ। शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले प्रचार–प्रसारसम्बन्धी सम्पूर्ण खर्च तोकिएको बैङ्क खाताबाट मात्रै गर्नुपर्ने व्यवस्था भएकाले अझै खाता नखोलेका उम्मेदवारलाई तत्काल प्रक्रिया पूरा गर्न सचेत गराएको हो।
आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले सार्वजनिक बिदाका कारण खाता खोल्ने कार्यमा केही असहजता देखिएको स्वीकार गर्दै अब थप ढिलाइ नगर्न आग्रह गरिएको बताइन्। उनका अनुसार निर्वाचन प्रचार–प्रसारको अवधि फागुन ४ गतेबाट सुरु हुने भएकाले सोही मितिदेखि बैंक खाता सञ्चालनमा आओस् भन्ने आयोगको अपेक्षा छ।
उनले आयोगले घोषणापत्र र निर्वाचन बैंक खाताको विषयलाई विशेष प्राथमिकतामा राख्दै प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दलहरूलाई निर्देशनात्मक आदेश जारी गरिसकेको जानकारी दिइन्।
उम्मेदवारले बैङ्क खाता खोल्न आवश्यक सिफारिस दलमार्फत निर्वाचन आयोग बाट लिनुपर्ने र व्यक्तिगत रूपमा जिल्ला निर्वाचन कार्यालय वा प्रदेश निर्वाचन कार्यालयबाट सिफारिस लिनुपर्ने व्यवस्था गरिएको उनले स्पष्ट पारिन्। यो व्यवस्था अभिलेख सुरक्षित राख्ने उद्देश्यले गरिएको उनको भनाइ छ।
सहायक प्रवक्ता श्रीसका अनुसार उम्मेदवारलाई खाता खोल्ने प्रक्रियामा सहज बनाउन आयोगले बैङ्कका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरी समन्वय गरेको छ। बैङ्कहरूले समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको उनले जानकारी दिइन्। सकेसम्म फागुन ३ गतेभित्र खाता खोलिसक्न र सोही खाताबाट सबै कारोबार गर्न आयोगले अपेक्षा गरेको छ।
हाल केही उम्मेदवारले खाता नखोलेको अवस्थामा आयोगले तत्काल प्रक्रिया पूरा गर्न निर्देशन जारी गरेको छ। शुक्रबार सार्वजनिक बिदा परेकाले आइतबार वा सोमबारसम्म अधिकांश उम्मेदवारले खाता खोलिसक्ने आयोगको विश्वास रहेको छ।
आयोगद्वारा जारी निर्वाचन आचारसंहितामा चुनावी खर्च पारदर्शी बनाउन प्रत्येक उम्मेदवारले छुट्टै बैङ्क खाता खोल्नुपर्ने र सबै खर्च सोही खातामार्फत गर्नुपर्ने स्पष्ट व्यवस्था गरिएको छ।


प्रतिक्रिया दिनुहोस्