चोरीका मोटरसाइकलका पार्टपुर्जा बिक्री गर्दै जडान गर्ने गिरोहका ३ जना काठमाडौँमा पक्राउ


काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले चोरी भएका मोटरसाइकलका पार्टपुर्जा निकालेर बिक्री वितरण गर्ने तथा अन्य मोटरसाइकलमा जडान गर्ने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार फागुन ६ गते साँझ करिब ८ बजे बूढानीलकण्ठ नगरपालिका–७ हात्तीगौडाबाट चोरी गरिएको बा.प्र. ०२–०१६ प ६१४३ नम्बरको मोटरसाइकलका पार्टपुर्जा बिक्री गरिएको भन्ने सूचनाका आधारमा प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो। उक्त मोटरसाइकल काठमाडौँ महानगरपालिका–२२ संकटा मन्दिर नजिक पार्किङ गरी राखिएको अवस्थामा चोरी भएको थियो।

अनुसन्धानका क्रममा मोटरसाइकलका पार्टपुर्जा निकाली बिक्री गर्ने तथा अन्य मोटरसाइकलमा जडान गर्ने कार्यमा संलग्न मोरङ कानेपोखरी गाउँपालिका–६ घर भई हाल बूढानीलकण्ठ–७ बस्ने ३१ वर्षीय लक्ष्मण विश्वकर्मा, अर्घाखाँची शितगंगा गाउँपालिका–२ घर भई हाल बूढानीलकण्ठ–६ बस्ने २८ वर्षीय नरबहादुर चित्रे र बूढानीलकण्ठ–७ कै ३८ वर्षीय करण खड्गीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट दुई थान टायर, इन्जिनका विभिन्न भाग, भाइजर, चेसिस नम्बर काटिएका टुक्रा, साइलेन्सर, ट्यांकी, सटको भागलगायत मोटरसाइकलका पार्टपुर्जा निकाल्न प्रयोग हुने उपकरण बरामद गरेको छ। साथै चोरी गरिएको मोटरसाइकलका पार्टपुर्जा जडान गरिएका तीन वटा मोटरसाइकलसमेत फेला पारिएको जनाइएको छ।