चुनाव चिन्ह अंकित झण्डा जलाउने व्यक्ति दाङबाट पक्राउ


काठमाडौँ। दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित वीरेन्द्र चोकमा चुनाव चिन्ह अंकित झण्डा जलाएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

फागुन ७ गते राति करिब ९:३० बजे तुलसीपुर–५, वीरेन्द्र चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई स्वागत गर्न भेला भएको भीडका बिच केही अपरिचित व्यक्तिहरूले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को चुनाव चिन्ह अंकित झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।

उक्त भिडियोका आधारमा गरिएको अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको पहिचान भएका तुलसीपुर उपमहानगरपालिका–७, कालाखोला निवासी ५५ वर्षीय बुद्धि बहादुर बस्नेतलाई मिति फागुन ८ गते जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाइएको छ।

निर्वाचनको समयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भावमा खलल पुग्ने किसिमका गतिविधि नगर्न तथा संयमित र जिम्मेवार व्यवहार प्रदर्शन गर्न नेपाल प्रहरीले सरोकारवालाहरूलाई आग्रह गरेको छ।