निर्वाचन पर्यवेक्षणमा निहित स्वार्थका गतिविधि हुन सक्ने चेतावनी, सञ्चारकर्मीलाई सहयोगको अपिल


काठमाडाैँ ।निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचनमा पर्यवेक्षण गर्न आउने संस्था तथा व्यक्तिहरूले निहित स्वार्थका गतिविधि गर्न सक्ने चेतावनी दिएका छन् ।

गोरखापत्र संस्थानले आइतवार आयोजना गरेको कार्यक्रममा आयुक्त भण्डारीले आयोगबाट अनुमति लिएर निर्वाचन पर्यवेक्षणमा खटिएका व्यक्तिहरूको गतिविधि नियमनमा सञ्चारमाध्यमहरूले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका हुन् ।

उनका अनुसार विदेशी तथा स्वदेशी दुवै संस्थाका प्रतिनिधिहरू निर्वाचन पर्यवेक्षणमा सहभागी हुनेछन्। विदेशी संस्थाबाट उच्च पदस्थ व्यक्तिहरू, साथै विभिन्न देशका निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरू समेत नेपाल आउने जानकारी दिइएको छ।

उनले भने, “उच्च पदस्थ व्यक्तिहरूले केही नराख्ने भए पनि अन्य पर्यवेक्षकहरूले व्यक्तिगत स्वार्थ पूरा गर्न मतदान स्थलमा पुगेर मतदान अधिकृतसँग अनावश्यक प्रश्न सोध्ने, मतदान प्रक्रियामा क्षणिक अवरोध सिर्जना गर्ने वा निर्वाचनलाई प्रभावित पार्ने प्रयास गर्न सक्छन्। यदि यस्तो देखियो भने तत्काल समाचार सम्प्रेषण गर्नुपर्नेछ, जसले आयोगलाई ठूलो सहयोग पुर्‍याउनेछ।”

आयुक्त भण्डारीले विगतका निर्वाचनका उदाहरणसमेत स्मरण गराउँदै भन्नुभयो कि केही विदेशी संघ–संस्थाले पर्यवेक्षणको नाममा मतदातालाई विशेष चुनाव चिन्हमा भोट हाल्न वा नगर्न प्रचार गरेको अनुभव रहेको छ।

उनले आगामी फागुन २१ गतेको निर्वाचन नियमित आवधिक निर्वाचनभन्दा भिन्न प्रकारको हुने र संविधानलाई सही मार्गमा ल्याउने महत्वपूर्ण अवसर भएकाले स्वच्छ, भयरहित र स्वतन्त्र मतदान सुनिश्चित गर्नु पर्नेमा जोड दिए । उनले नागरिकहरू आगामी निर्वाचनमा मतदानका लागि उत्साहित रहेको पनि बताए ।