निर्वाचनको समयमा तीन दिन सार्वजनिक बिदाका लागि सिफारिस


काठमाडौँ । फागुन २१ गते निर्धारित निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले तीन दिन सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरेको छ ।

आयोगले मतदानमा अधिकतम सहभागिता सुनिश्चित गर्न फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गर्न प्रस्ताव गरेको जनाएको छ । उक्त प्रस्ताव स्वीकृत भएमा देशभर एक सातासम्म लगातार सार्वजनिक बिदा पर्ने अवस्था सिर्जना हुने छ ।

फागुन १८ र १९ गते होली पर्व परेकाले ती दिन सार्वजनिक बिदा रहने छ । त्यसपछि आयोगले सिफारिस गरेका फागुन २० देखि २२ गतेसम्म निर्वाचनसम्बन्धी बिदा रहने छ । यस्तै, फागुन २३ र २४ गते क्रमशः शनिबार र आइतबार परेकाले सात दिन लगातार सार्वजनिक बिदा हुने सम्भावना देखिएको हो ।

आयोगले सबै मतदातालाई सहज रूपमा मतदान केन्द्रसम्म पुग्न वातावरण बनाउन यस्तो सिफारिस गरिएको स्पष्ट पारेको छ । अब सरकारको निर्णयपछि मात्रै बिदासम्बन्धी अन्तिम टुङ्गो लाग्ने छ ।