काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले शासनको वैधताको एक मात्र स्रोत जनताको मताधिकार भएको उल्लेख गर्दै निर्वाचनको कुनै विकल्प नरहेको स्पष्ट पारेका छन् ।
पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आगामी निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष वातावरणमा सम्पन्न गराउनु सरकारको संवैधानिक दायित्व भएको स्मरण गराएका हुन् ।
सरकारलाई सचेत गराउँदै प्रवक्ता चालिसेले निर्वाचन प्रक्रियामा कुनै प्रकारको दायाँबायाँ स्वीकार्य नहुने धारणा राखे । जनताले स्वतन्त्र रूपमा मतदान गर्न पाउनु नै लोकतन्त्रको मूल आत्मा भएको बताउँदै उनले सरकारको नियतमाथि अहिले नै शंका नगरे पनि निष्पक्ष वातावरण निर्माणमा पूर्ण सजगता आवश्यक रहेको उल्लेख गरे।
पछिल्लो समय विभिन्न राजनीतिक दल परित्याग गरी काँग्रेसमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताको सङ्ख्या उल्लेखनीय रूपमा बढेको उनको दाबी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक सदस्यदेखि उच्च तहका नेताहरू, प्रदेश संयोजकहरू तथा नेपाल कम्युनिस्ट पार्टीका पूर्वमन्त्री, केन्द्रीय सदस्य र संविधानसभा सदस्यहरूसमेत काँग्रेसमा आवद्ध भइरहेको उनले जानकारी दिए । जिल्ला तहका संरचनासमेत पार्टीमा समाहित भइरहेका भन्दै उहाँले यसलाई जनविश्वासको सङ्केतका रूपमा व्याख्या गरे । यही आकर्षणले आगामी निर्वाचनमा काँग्रेसलाई बहुमत दिलाउने विश्वास पार्टीले लिएको उनको भनाइ छ ।
निर्वाचन हुने वा नहुने भन्ने आशङ्का सम्बन्धी प्रश्नमा उहाँले निर्वाचन रोक्ने सुसुप्त प्रयास हुनसक्ने सम्भावनालाई नकार्न नसकिने तर सरकारको दृढता र राजनीतिक दलहरूको सक्रिय सहभागिताले ती सबै आशङ्कालाई अन्त्य गर्ने बताए। लोकतान्त्रिक अभ्यासमा सहभागी सबै दलहरू चुनावमा होमिनुको विकल्प नरहेको उनको जिकिर थियो ।
पूर्वराजा ज्ञानेन्द्र शाहको हालैको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै प्रवक्ता चालिसेले व्यक्तिगत स्वतन्त्रताको सम्मान गरिने तर लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने स्पष्ट पारे । जनताको मतमार्फत स्थापित प्रतिनिधिमूलक संसद्ले नै देशका जटिल राजनीतिक प्रश्नहरूको समाधान गर्ने विश्वास काँग्रेसले लिएको उनले बताए ।
आगामी प्रतिनिधि सभा निर्वाचनलाई लोकतन्त्र सुदृढीकरण र समृद्धिको अवसरका रूपमा व्याख्या गर्दै उनले राजनीतिक संक्रमण, आर्थिक अव्यवस्था र जनअपेक्षाबीच काँग्रेसले उच्च जिम्मेवारीका साथ भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए। जनादेश नै शासनको वैधानिक आधार हुने र त्यो निर्वाचनबाटै सुनिश्चित हुने धारणा उनले दोहोर्याए ।
प्रेस स्वतन्त्रताको विषयमा पनि उनले पार्टीको स्पष्ट धारणा राखे। पत्रकारितालाई लोकतन्त्रको शक्तिशाली आधार स्तम्भका रूपमा सम्मान गर्दै उहाँले आलोचनात्मक समीक्षालाई समेत सकारात्मक रूपमा लिने बताए । विपी कोईरालाको उदाहरण दिँदै उनले लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता अनिवार्य तत्व भएको उल्लेख गरे ।
काँग्रेसले ‘बदल्यौँ काँग्रेस, बदल्छौँ देश’ भन्ने मूल नारासहित नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै प्रवक्ता चालिसेले यसलाई ‘कांग्रेस २.०’ को रूपमा व्याख्या गरे । मध्यमार्गी र सन्तुलित राजनीतिक चरित्रलाई सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले अति लोकप्रियतावाद र प्रतिगामी प्रवृत्तिविरुद्ध सचेत रहनुपर्ने बताए ।
निर्वाचनको मुखमा सामाजिक सञ्जालमार्फत काँग्रेस उम्मेदवारविरुद्ध भ्रम र दुष्प्रचार फैलाउने प्रयास भइरहेको उल्लेख गर्दै उनले पार्टी त्यसप्रति सजग रहेको बताए । नेता–कार्यकर्तालाई कुनै भ्रममा नपरी दृढतापूर्वक प्रचार–प्रसारमा जुट्न निर्देशन दिइएको पनि उहाँले जानकारी दिए ।
निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै उनले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सभ्य चुनावी प्रतिस्पर्धा कायम राख्न आग्रह गरे । घृणायुक्त अभिव्यक्ति, व्यक्तिगत आक्षेप तथा उक्साहटपूर्ण गतिविधि तत्काल बन्द गरिनुपर्ने उनको भनाइ छ ।
काँग्रेसको घोषणापत्रप्रति जनताको सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको दाबी गर्दै उनले उठ्ने प्रश्नहरूको उत्तर दिन पार्टी तत्पर रहेको बताए । देशभर बढ्दो पार्टी प्रवेश र एकताको सन्देशले आगामी निर्वाचनमा निर्णायक परिणाम ल्याउने विश्वास व्यक्त गर्दै उहाँले सबैलाई लोकतान्त्रिक अभ्यासमा सक्रिय सहभागिताका लागि आह्वान गरे ।


प्रतिक्रिया दिनुहोस्