काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारहरूलाई निर्वाचन चिन्हको भौतिक स्वरूप बोकेर प्रचारप्रसार नगर्न निर्देशन दिएको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार दल र उम्मेदवारले आयोगले प्रदान गरेको निर्वाचन चिन्ह प्रचारप्रसारमा प्रयोग गर्न पाइने भए पनि त्यसलाई ठोस भौतिक वस्तुको रुपमा बोकेर हिँड्न पाइँदैन।
घिमिरेका अनुसार निर्वाचन चिन्हको भौतिक स्वरूपमा प्रचार गर्दा समाजको शान्ति, सुव्यवस्था र सुरक्षा व्यवस्थामा प्रतिकूल असर पर्ने उजुरीहरु आयोगमा पर्न थालेका थिए। उजुरीको अध्ययनपछि आयोगले यस प्रकारको प्रयोगलाई निर्वाचन आचारसंहिता विपरित भएको ठहर गरेको हो।
उनले भने, “निर्वाचन चिन्हलाई कागज, फ्लेक्स वा अन्य सामग्रीमा मात्र सांकेतिक रुपमा प्रयोग गर्नुपर्छ। तोकिएको ढंगमा नभई भौतिक स्वरूपमा बोकेर प्रचार गर्ने हो भने निर्वाचन आचारसंहिता उल्लङ्घन हुनेछ। सबै दल र उम्मेदवारहरुले आफ्नो दलको झण्डा र निर्वाचन चिन्ह मात्र प्रयोग गरी शान्तिपूर्ण र व्यवस्थित वातावरणमा प्रचारप्रसार गर्नुपर्छ।”
निर्वाचन आयोगको निर्णयपछि राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरुले चुनाव चिन्ह रहेको घण्टी बजाउँदै प्रचार गर्दा ध्वनी प्रदूषण भएको उजुरी परेको थियो। यस घटना पछि आयोगले स्पष्ट पारेको हो कि निर्वाचन चिन्हको भौतिक स्वरूप बोकेर प्रचार गर्न नपाइने व्यवस्था लागू गरिएको छ।


प्रतिक्रिया दिनुहोस्