शिक्षक–प्राध्यापक चुनावी प्रचारमा संलग्न भए कारबाही गर्ने आयाेगकाे चेतावनी


काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारमा संलग्न हुने शिक्षण संस्थामा आबद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीमाथि कडा कारबाही हुने चेतावनी दिएको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले केही शिक्षक तथा प्राध्यापक राजनीतिक दल वा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा सहभागी भएको उजुरी प्राप्त भएको जानकारी दिए । उनले त्यस्ता गतिविधि निर्वाचन आचारसंहिता विपरीत रहेको उल्लेख गर्दै संलग्न पाइएमा कानून बमोजिम कारबाही गरिने स्पष्ट पारे ।

आयोगका अनुसार निर्वाचन आचारसंहिता तथा सम्बन्धित कानुनी व्यवस्थाअनुसार दोषी ठहरिएमा पदबाटै हटाइनेसम्मको कारबाही हुन सक्ने प्रावधान रहेको छ ।

यसैले शिक्षण संस्थामा कार्यरत जनशक्तिलाई आफ्नो पदको मर्यादा, तटस्थता र कानुनी दायित्वलाई ख्याल गर्दै कुनै पनि दल वा उम्मेदवारको चुनावी अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी नहुन सचेत गराइएको छ ।

प्रवक्ता भट्टराईले आचारसंहिताको दफा ४८ अनुसार आचारसंहिता उल्लंघन गर्नेहरूमाथि आवश्यक कारबाही गरिने जानकारी दिँदै निर्वाचन प्रक्रियाको स्वच्छता र निष्पक्षता कायम राख्न सबै पक्षको सहयोग अपरिहार्य रहेको बताए ।

आयोगले जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत, निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालयहरूलाई पनि आचारसंहिताको पूर्ण पालना सुनिश्चित गर्न आवश्यक अनुगमन सुदृढ गर्न निर्देशन दिएको छ ।