सहकारी नियमन प्राधिकरणद्वारा सहकारी दर्ता अभिलेखीकरणको म्याद चैत १७ सम्म थप


काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरण, पुल्चोक ललितपुरले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको दर्ता अभिलेखीकरण सम्बन्धी समयावधि पुनः थप गरेको छ।

सहकारी ऐन, २०७४ को दफा २०क. बमोजिम प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ जारी गरी मिति २०८२ मंसिर १० गतेदेखि दर्ता अभिलेखीकरण कार्य सुरु गरेको थियो।

यसअघि मापदण्ड (दोस्रो संशोधन) अनुसार थप गरिएको समयावधि २०८२ फागुन ११ गतेसम्म कायम रहेको थियो।

तर उक्त अवधिसम्म सबै सहकारी संस्थाहरूले विवरण प्रविष्टि गरिसक्न नसक्ने अवस्था देखिएकाले तथा विवरण प्रविष्टिको कार्य निरन्तर जारी रहेकाले “दर्ता अभिलेखीकरण (तेस्रो संशोधन) मापदण्ड, २०८२” बमोजिम समयावधि पुनः थप गरिएको हो

प्राधिकरणको फागुन ९ गतेको निर्णयअनुसार अब दर्ता अभिलेखीकरणको अन्तिम म्याद २०८२ चैत १७ गतेसम्म कायम गरिएको छ।

प्राधिकरणले तोकिएको थप गरिएको अवधिभित्र अनिवार्य रूपमा दर्ता अभिलेखीकरण गराउन सबै सम्बन्धित सहकारी संस्थाहरूलाई आग्रह गरेको छ।