मतपेटिका सङ्कलनपछि २४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गरिने


काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मतपरिणाम मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

मतदान सम्पन्न भएलगत्तै मतपेटिका सङ्कलन गरी मतगणना कार्यलाई द्रुत गतिमा अघि बढाइने आयोगको योजना छ ।कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यसपटक प्रतिनिधि सभाको मात्र निर्वाचन भएकाले परिणाम आउन ढिलाइ नहुने बताए । उनका अनुसार समानुपातिकतर्फको मतगणनामा एक–दुई दिन लाग्न सक्ने भए पनि प्रत्यक्षतर्फको अन्तिम नतिजा मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्रै घोषणा गर्ने गरी तयारी गरिएको छ ।

उनले उपत्यका बाहिरका जिल्लामा मतपत्र पठाउने काम सकिएको जानकारी दिँदै काठमाडौँ, ललितपुर र भक्तपुरका केही स्थानमा मंगलबार साँझसम्म मतपत्र पु¥याइसक्ने गरी काम भइरहेको बताए ।

मतदान अधिकृतहरूको तालिम पनि मंगलबार साँझसम्म सम्पन्न हुने र त्यसपछि उनीहरू आवश्यक सामग्री बुझेर सम्बन्धित मतदान केन्द्रमा खटिने कार्यक्रम रहेको छ ।

निर्वाचन तयारीका लागि आवश्यक व्यवस्थापन कार्य सम्पन्न भइसकेको र आयोग कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको उनले उल्लेख गरे । मतपत्र छपाइदेखि ढुवानीसम्मका जटिल व्यवस्थापकीय काम सकिएको र कर्मचारीहरू कार्यक्षेत्रमा परिचालन हुन थालिसकेको जानकारी उनले दिए ।

हिमाली क्षेत्रमा अस्थायी मतदान केन्द्र निर्धारण गर्ने विषयमा भने आयोग अझै निर्णयमा पुग्न नसकेको उनले स्पष्ट पारे । भौगोलिक विकटता र प्रतिकूल मौसमलाई ध्यानमा राख्दै मतदातालाई मताधिकार प्रयोगबाट वञ्चित हुन नदिन आवश्यक अध्ययन गरी छिट्टै निर्णय गरिने उनको भनाइ छ । “यदि त्यस्तो अवस्था आयो भने हामी मतदाता जहाँ हुनुहुन्छ, त्यहीँ पुगेर मत सङ्कलन गर्ने निर्णय गर्छौँ,” उनले भने ।

यसैबिच निर्वाचनको मुखमा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना नफैलाउन कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आग्रह गरेका छन् । उनले निषेधको राजनीति नगर्न राजनीतिक दलहरूलाई चेतावनी दिँदै स्वच्छ प्रतिस्पर्धाबाट मात्रै निष्ठावान नेतृत्व चयन हुने धारणा व्यक्त गरे। सामाजिक सञ्जालमा प्रसारित असत्य सामग्रीको पछि नलाग्न र त्यस्ता सामग्री तत्काल हटाउन मतदातालाई पनि उनले अनुरोध गरेका छन् ।

प्रतिनिधि सभा निर्वाचनका लागि आगामी २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने कार्यतालिका रहेको छ ।