‘डबल आइजिन’ संस्थापक र सर्वसाधारण सेयर विधिपूर्वक मिसाउने प्रस्ताव हो : सिडिएससी


काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले संस्थापक र सर्वसाधारण सेयरका लागि फरक अन्तर्राष्ट्रिय पहिचान नम्बर (आइजिन) दिने र आवश्यक परे विधिपूर्वक मिसाउन सकिने व्यवस्थासहितको धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका–२०८२ को मस्यौदाबारे उठेका भ्रमहरू स्पष्ट गरेको छ ।

सरोकारवालासँगको छलफल कार्यक्रममा सिडिएससीकी प्रबन्ध निर्देशक प्रविण पन्दाकले प्रस्तावित निर्देशिकाले “संस्थापक र सर्वसाधारण आईएसआईएन कहिल्यै मिसाउन नपाइने” व्यवस्था नगरेको बताउँदै विधिसम्मत प्रक्रियाबाट मात्र मिसाउनुपर्ने प्रावधान राखिएको स्पष्ट पारिन्।

उनका अनुसार एउटै आइजिनको दुरुपयोग गर्दै संस्थापक सेयरलाई गुपचुप सर्वसाधारण मूल्यमा बिक्री गर्ने, लकइन अवधि नपर्खी सेयर रूपान्तरण गर्ने तथा तथ्यांक गडबडी गर्ने प्रवृत्ति देखिएकाले डबल आइजिन आवश्यक भएको हो। “बेथिति रोक्न, पारदर्शिता सुनिश्चित गर्न र नियतवश वा प्राविधिक त्रुटिका कारण हुने विकृति न्यून गर्न” यस्तो प्रस्ताव ल्याइएको उनले बताइन्।

लकइन अवधिसम्म फरक आइजिन,पछि रूपान्तरण
सिडिएससीले सार्वजनिक गरेको मस्यौदाअनुसार कुनै धितोपत्रलाई फरक–फरक आइजिन दिइएको अवस्थामा प्रचलित कानुनअनुसार फरक आइजिन आवश्यक नपर्ने देखिएमा सम्बन्धित कम्पनीको अनुरोधमा आइजिन मिसाउन सकिनेछ । यसका लागि कम्पनीले साधारणसभाबाट प्रस्ताव पारित गराउनुपर्ने र सञ्चारमाध्यममा सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था प्रस्तावित छ ।

निर्देशिका लागू भएपछि कम्पनीले संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्न चाहेमा वार्षिक साधारणसभाबाट पारित गरी नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई जानकारी दिई एउटै आइजिनमा मिसाउन सक्नेछ। यस प्रक्रियामा शुल्क नलाग्ने सिडिएससीले जनाएको छ।

एकल आइजिनले वित्तीय अपराधको जोखिम बढायो : लगानीकर्ता
लगानीकर्ता तथा बजार विज्ञहरूले भने एकल आइजिनले प्रणालीका कारण सर्वसाधारण लगानीकर्ता ठगिएको र लकइन अवधि नपर्खी संस्थापक सेयर बिक्री भएको गुनासो गरेका छन्।

लगानीकर्ता प्रकाश रजौरेले विगतमा निजी क्षेत्रको पहिलो जलविद्युत कम्पनी नेसन हाइड्रोपावर कम्पनीमा प्रमोटर सेयरलाई सर्वसाधारणको छाप लगाएर दोहोरो प्रयोग भएको घटनाले आईडी प्रणालीको कमजोरी देखाएको उल्लेख गरे।

आरबिबी मर्चेन्टका सिइओ बद्री प्याकुरेलले पनि सूचीकरणपछि संस्थागत लगानीकर्ताले लकइन अवधि बाँकी रहँदै सेयर बिक्री गरी कम्पनीबाट बाहिरिने प्रवृत्ति देखिएकाले डबल आइजिन आवश्यक भएको बताए।

निजी क्षेत्रको आपत्ति
यता स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सीमित कम्पनीको गल्तीका कारण सबैलाई एउटै नियम लागू गर्न नहुने बताए। “५०० कम्पनीमध्ये एक–दुईले गल्ती गरे भने उनीहरूलाई कारबाही गरिनुपर्छ, तर सबैलाई एउटै डन्डाले हान्न मिल्दैन,” उनले भने।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले डबल आइजिनले बोनस, हकप्रदजस्ता कर्पोरेट कार्यमा थप जटिलता ल्याउन सक्ने भन्दै संस्थापकको लकइन अवधि बढाउने वा बिक्री सीमा तोक्ने विकल्प सुझाए।

सिडिएससीका अनुसार सञ्चालक समितिले भदौमै निर्देशिका पारित गरी बोर्डमा पठाए पनि हालसम्म स्वीकृति भएको छैन ।
सिडिएससीले भने यदि निर्देशिका समयमै स्वीकृत भई लागू भएको भए अहिले देखिएको विवाद र द्वन्द्व उत्पन्न नहुने दाबी गरेको छ ।

नेपालमा संस्थापक र सर्वसाधारण सेयरको मूल्य, लकइन अवधि र अधिकार फरक हुने व्यवस्था छ । तर, एउटै आइजिन प्रयोग हुँदा तथ्याङ्क गडबडी, समयपूर्व बिक्री र मूल्य दुरुपयोगको जोखिम बढेको भन्दै नियामक तहमा संस्थापक सेयर र सर्वसाधारण सेयरको लागि फरक फरक आइजिन नम्बरको बहस तिब्र बनेको छ ।