काठमाडौँ । नर्सरी व्यवसायी सङ्घ नेपालले ‘तेस्रो नेसनल हार्टिकल्चर एक्स्पो २०८२’ आयोजना गर्ने भएको छ। संघले फागुन २९ गतेदेखि चैत ३ गतेसम्म काठमाडौँस्थित भृकुटीमण्डपमा एक्स्पो सञ्चालन हुने जानकारी दिएको हो।
नेपालमा तीव्र गतिमा विस्तार हुँदै गएको फूल, फलफूल, कृषि तथा वन र जडीबुटी नर्सरी क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले बृहत् प्रदर्शनी आयोजना गर्न लागिएको सङ्घले जनाएको छ। नर्सरी व्यवसायलाई व्यवस्थित, व्यवसायिक र प्रतिस्पर्धी बनाउँदै स्वदेशमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्यसहित एक्स्पो गर्न लागिएको हो।
‘नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार’ भन्ने मूल नारासहित सञ्चालन हुने प्रदर्शनीमा देशभरका नर्सरी व्यवसायीहरूको सहभागिता रहनेछ। एक्स्पोमा उत्कृष्ट हार्टिकल्चर प्रस्तोता, उत्कृष्ट फूल प्रस्तोता, उत्कृष्ट ल्यान्डस्केप डिजाइन, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट सजावटी बिरुवा, उत्कृष्ट फूल्ने बिरुवा, उत्कृष्ट फलफूल बिरुवा तथा उत्कृष्ट औषधीय तथा सुगन्धित बिरुवा विधामा विजेतालाई नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ।
यसका साथै दीर्घकालीन नर्सरी व्यवसायी सम्मान २०८२ र विशेष उत्पादक नर्सरी व्यवसायी सम्मान २०८२ समेत प्रदान गरिने संघले जनाएको छ।
संघका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रविन कुमार गौतम ले नर्सरी व्यवसायको प्रवर्द्धन, व्यवसायीबिच अनुभव आदानप्रदान तथा बजार विस्तारका लागि एक्स्पो महत्वपूर्ण अवसर हुने विश्वास व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस्