काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्माण व्यवसायीलाई विज्ञप्ति जारी गरेर प्रतिक्रिया जनाउनेभन्दा विकास निर्माणका काममा केन्द्रित हुन आग्रह गरेका छन् ।
मंगलबार इटहरीमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै लामिछानेले रास्वपाले आफ्ना धारणा सार्वजनिक गर्दा केही पक्ष आत्तिएको जस्तो देखिएको टिप्पणी गरेका हुन्। देश अब विकास निर्माणको बाटोमा अघि बढिसकेको दाबी गर्दै उहाँले निर्माण व्यवसायीलाई दुई–तीन सिफ्टमा, रातदिन काम गर्ने तयारी गर्न आग्रह गरे । आवश्यक उपकरण अभाव भए नयाँ उपकरण खरिदको तयारी गर्न पनि सुझाव दिए ।
उनले कानूनअनुसार काम गराइने स्पष्ट पार्दै कसैलाई ‘डोरीले बाँध्ने’ अभिप्राय नभएको बताए। “बाँध्ने भनेको कानूनले हो, मानिसलाई डोरीले बाँध्ने होइन,” उनले भने ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले बाटो नबनाउने निर्माण व्यवसायीलाई रुखमा बाँधेर काममा लगाउने अभिव्यक्ति दिएको विषयमा नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएपछि सभापति लामिछानेले स्पष्टिकरण दिएका छन् ।
उनले अब देश विकासको चरणमा प्रवेश गरेको दाबी गर्दै निर्माण व्यवसायीलाई सुरक्षाको चिन्ता नगरी उपकरण व्यवस्थापनमा लाग्न आग्रह गरे। “विज्ञप्ति निकाल्न आवश्यक छैन, ठूला–ठूला उपकरण कसरी ल्याउने, विकासलाई तीव्रता कसरी दिने भन्ने तयारी गर्नुहोस्,” उनले भने ।
उनले गगनकुमार थापालाई लक्षित गर्दै दुई दशकसम्म सत्ता र पदमा रहँदा काम नगरी अहिले आएर सडक निर्माणका लागि कानून परिवर्तन गर्नुपर्ने कुरा गर्नु विडम्बनापूर्ण भएको टिप्पणी गरे।


प्रतिक्रिया दिनुहोस्