कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू


काठमाडाैँ । कुष्ठरोग प्रभावितहरूको अधिकार रक्षा, कानूनी विभेदको अन्त्य र प्रभावकारी नीति कार्यान्वयनका लागि राज्यले ‘दया’ को साटो ‘अधिकारमुखी’ दृष्टिकोण अपनाउनुपर्नेमा पूर्वप्रशासक तथा कानूनविद्हरूले जोड दिएका छन् । 

कुष्ठरोगको क्षेत्रमा गरिएको एक विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक तथा छलफल कार्यक्रममा बोल्दै उनीहरूले कानूनी जटिलता र सामाजिक विभेद नै निवारणको मुख्य वाधक रहेको औँल्याएका हुन् ।

कुष्ठरोगलाई केवल स्वास्थ्य समस्याका रूपमा मात्र नहेरी यसलाई मानव अधिकार, सामाजिक न्याय र राष्ट्रिय विकासको गम्भीर मुद्दाका रूपमा सम्बोधन गर्नुपर्नेमा उनीहरुको जोड छ ।

कुष्ठरोग प्रभावितहरूलाई समाजको मूल प्रवाहबाट अलग राख्ने विद्यमान विभेदकारी कानूनी प्रावधानहरू तत्काल खारेज गर्नुपर्ने बताए । उनीहरुले राज्यको लगानी, नीतिगत स्पष्टता र तीनै तहका सरकारबीचको समन्वय अभावले गर्दा निवारणको लक्ष्य अझै चुनौतिपूर्ण रहेको बताए । 

कुष्ठरोग दयाको होइन, अधिकार र न्यायको विषय होः पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठ

पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले कुष्ठरोगलाई स्वास्थ्यको समस्या मात्र नभई मानव अधिकार, सार्वजनिक स्वास्थ्य र न्यायको प्रश्नका रूपमा हेर्नुपर्ने बताए ।

उनले भने, “कुष्ठरोग प्रभावित हुनु कुनै अयोग्यता होइन । यो दया वा कृपामा बाँच्नुपर्ने विषय पनि होइन, यो अधिकारको विषय हो ।”

कानून निर्माणका क्रममा प्रभावितहरूको अनुभव र कठिनाइलाई नसुनी ‘अड्कलको भरमा’ कठोर कानून बनाइएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गरे ।

राज्यले छुट्याएको न्यून बजेट (५० लाख) ले यो समस्या समाधान नहुने भन्दै उनले यसलाई ‘हेपिएको विषय’ बाट ‘प्राथमिकताको विषय’ मा रूपान्तरण गर्न आग्रह गरे ।

“कुष्ठ शब्द सुन्ने बित्तिकै झस्किने र महारोग भन्ने सोचले गर्दा प्रभावितहरूलाई समाजबाट पन्छाइयो,” श्रेष्ठले भने, “अब रणनीतिलाई योजनामा बदल्नुपर्छ । कति वर्षमा उन्मुलन गर्ने, कति वर्षमा कानूनी सुधार गर्ने भन्ने समयवद्ध कार्ययोजना आवश्यक छ ।”

सात वटा कानूनमा परिमार्जन र एकीकृत राष्ट्रिय नीति आवश्यकः पूर्वसचिव धनराज ज्ञवाली

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका पूर्वसचिव धनराज ज्ञवालीले कुष्ठरोग प्रभावितमाथि भइरहेको कानूनी विभेद हटाउन सातवटा कानूनको पहिचान गरिएको जानकारी दिए । विशेषगरी मुलुकी देवानी संहिताको दफा ७१ र ७३ मा रहेका विभेदकारी प्रावधानहरू हटाउनुपर्ने उनको तर्क छ । 

“हामीले मेडिकल, अधिकार र सामाजिक संरक्षण गरी तीनवटा पक्षलाई मुख्य आधार मानेका छौँ,” ज्ञवालीले भने ।

उनले कुष्ठ प्रभावितहरूको अपाङ्गताको प्रकृति विशिष्ट (नदेखिने) हुने भएकाले अपाङ्गताको परिभाषामा पनि सुधार आवश्यक रहेको बताए ।

ज्ञवालीले भने, “हामीले जनस्वास्थ्य ऐन, सामाजिक सुरक्षा ऐन र अपराध संहिता लगायतका कानुनमा सुधार गरी विभेदलाई दण्डनीय बनाउनुपर्छ ।”

उनले तीन तहका सरकारको भुमिका स्पष्ट हुनेगरी एउटा वृहत राष्ट्रिय नीतिको आवश्यकता रहेको र त्यसका लागि मस्यौदाको तयारी भइरहेको समेत बताए ।

तथ्याङ्कमा आधारित कार्यान्वयनयोग्य नीति र समन्वयमा जोडः पूर्वमुख्यसचिव शंकरदाश बैरागी

नेपाल सरकारका पूर्वमुख्यसचिव शंकरदाश बैरागीले नीतिहरू कागजमा राम्रा भएपनि कार्यान्वयनका लागि जनशक्ति र बजेटको अभाव मुख्य चुनौती रहेको बताए । उनले हचुवाका भरमा नीति बनाउनुको साटो तथ्य र तथ्याङ्कमा आधारित नीति बनाउनुपर्नेमा जोड दिए । 

“हामी एम्बिसस कार्यक्रम त ल्याउँछौँ, तर त्यसलाई चाहिने रिसोर्स र जनशक्ति दिँदैनौँ,” बैरागीले भने, “अब ‘टार्गेटेड डिटेक्सन’ (लक्षित पहिचान) मा जानुपर्छ । सामान्य सचेतनाले मात्र पुग्दैन ।”

उनले कुष्ठरोग निवारणका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारबिच मात्र नभई गैरसरकारी क्षेत्र र सामाजिक अभियन्ताहरूबिच पनि ‘मल्टी स्टेक होल्डर अप्रोच’ (बहु–सरोकारवाला पद्धति) आवश्यक रहेको बताए ।

आधुनिक प्रविधिसँगै नेपालको मौलिक र परम्परागत उपचार पद्धतिलाई पनि अनुसन्धान गरी प्रयोगमा ल्याउनुपर्ने उनको सुझाव छ ।