यस्ता छन् मङ्गलबार बसेकाे मन्त्रीपरिषद् बैठकका निर्णयहरू (पूर्णपाठ)


काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को फागुन १२ गते (मङ्गलबार) बसेको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन अवधिमा खटिएका सुरक्षाकर्मी वा निर्वाचन प्रहरी घाइते भए उपचारमा लाग्ने सम्पूर्ण खर्च राज्यले बेहोर्ने जानकारी दिए ।

सोही अवधिमा कर्तव्यपालनका क्रममा मृत्यु भएमा आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि गरिएको उनले बताए ।

निर्वाचनको सन्दर्भमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै फागुन २० देखि २२ गतेसम्म देशभर सार्वजनिक बिदा दिने निर्णय पनि सरकारले गरेको छ ।

मन्त्रिपरिषद्ले १६ औँ योजना कार्यान्वयन कार्ययोजना स्वीकृत गरेको छ भने नेपाललाई ओइसीडी ग्लोबल फोरम अन ट्रान्सपेरेन्सी एण्ड एक्सचेन्ज अफ इन्फर्मेसन फर ट्याक्स पर्पोजको सदस्यता लिन स्वीकृति प्रदान गरेको छ ।

साथै चीन सरकारबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्तावित ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरिएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटअनुसार बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गरेको छ । बिमा ऐन, २०७९ बमोजिमका कसुर सम्बन्धी मुद्दाको कारबाही तथा किनारा गर्न देशभरका ७७ जिल्ला अदालतलाई तोक्ने निर्णय पनि भएको छ ।

यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेश कार्यान्वयनका लागि गठित जाँचबुझ आयोगको कार्यअवधि एक महिना थप गरिएको छ । विक्रम संवत २०८३ सालका लागि सार्वजनिक बिदा पनि निर्धारण गरिएको छ ।

सरकारले हितमान गुरुङलाई बेलायतका राजाद्वारा प्रदान गरिने ‘मस्ट एक्सिलेन्ट अर्डर अफ द ब्रिटिश एम्पायर (बीईएम)’ उपाधि ग्रहण गर्न स्वीकृति दिएको छ ।

त्यसैगरी २१ औँ इन्टरपोल एनुअल हेड्स अफ एनसीबी कन्फरेन्समा सहभागी हुन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई स्वीकृति प्रदान गरिएको छ भने भारतमा हुने रायसिना इनसाइट्स फोरम २०२६ मा सहभागी हुन अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओमप्रकाश जोशीलाई अनुमति दिइएको छ ।

बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानको शपथ समारोहमा सहभागी भएका परराष्ट्रमन्त्रीको भ्रमण समर्थन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

चीन सरकारको अनुदान सहयोगमा निर्माण तथा स्तरोन्नति हुने कलंकी–वसुन्धरा काठमाडौँ चक्रपथ सुधार आयोजनासम्बन्धी कार्यान्वयन सम्झौतामा उल्लिखित विषयमा कर छुट दिने निर्णय गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको तदर्थ समितिलाई २०८३ असार मसान्तसम्म निरन्तरता दिइएको छ ।

यस्ता छन् निर्णयहरूः

  • १६ औँ योजना कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने । 
  • नेपाललाई ओइसीडी ग्लोबल फोरम अन ट्रान्सपेरेन्सी एण्ड एक्सचेन्ज अफ इन्फर्मेसन फर ट्याक्स पर्पोजको सदस्यता लिन स्वीकृति प्रदान गर्ने । 
  • चीन सरकारबाट प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्रदान गर्ने प्रश्तावित ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने । 
  • चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रममा उल्लेख भएबमोजिम बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने । 
  • बिमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न नेपालका ७७ वटै जिल्ला अदालतलाई तोक्ने । 
  • न्याय सेवा आयोगको सिफारिस बमोजिम दुई जना उपसचिवलाई नेपाल न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणीको पदमा पदस्थापन गर्ने । 
  • विक्रम संवत २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गर्ने । 
  • निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा लागेको खर्च नेपाल सरकारले व्यहोर्ने, साथै सो अवधिमा निजहरूको मृत्यु भएमा निजको आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने ।
  • २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा २०८२ फागुन २० गतेदेखि २२ गतेसम्म ३ दिन मुलुकभर सार्वजनिक बिदा दिने । 
  • हितमान गुरुङलाई बेलायतका राजाद्वारा प्रदान गरिने मस्ट एक्सिलेन्ट अर्डर अफ द ब्रिटिश एम्पायर बीईएम उपाधि ग्रहण गर्न स्वीकृति प्रदान गर्ने ।
  • नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार गठित यातायात क्षेत्र सम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन सम्बन्धी जाँचबुझ आयोगको कार्य अवधि एक महिना थप गर्ने ।
  • २०८२ चैत्र २५ देखि २७ गतेसम्म फ्रान्समा आयोजना हुने २१ औँ इन्टरपोल एनुअल हेड्स अफ एनसीबी कन्फरेन्समा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई सहभागी हुन स्वीकृत दिने ।
  • २०८२ फागुन १८ र १९ गते भारतमा हुने रायसिना इनसाइट्स फोरम २०२६ विषयक कार्यक्रममा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक श्री ओमप्रकाश जोशीलाई सहभागी हुन स्वीकृत दिने ।
  • नेपाल सरकारको प्रतिनिधित्व गर्दै २०८२ फागुन ४ देखि ७ गतेसम्म बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानको शपथ समारोहमा सहभागी हुनुभएका परराष्ट्रमन्त्रीको भ्रमण समर्थन गर्ने । 
  • चीन सरकारको अनुदान सहयोगमा निर्माण तथा स्तरोन्नति हुने कलंकीदेखि वसुन्धरासम्मको काठमाडौं चक्रपथ सुधार आयोजना कार्यान्वयन सम्झौतामा उल्लेखित विषयहरूमा कर छुट दिने । 
  • नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको तदर्थ समितिलाई संवत २०८३ साल असार मसान्तसम्मको लागि निरन्तरता दिने र सो समितिले उक्त अवधिभित्र नयाँ कार्यसमिति गठन गर्ने गरी बाधा अडकाउ फुकाउन आदेश जारी गर्ने । 
  • न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय महिलाको स्थिति सम्बन्धी आयोगको ७० औँ सम्मेलनमा २०८२ फागुन २५ देखि चैत ५ गतेसम्म सहभागी हुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृत प्रदान गर्ने ।
  • २०८२ फागुन १ देखि ७ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रतिनिधिसभाको आसन्न निर्वाचन पछि उपयुक्त समयमा आयोजना गर्ने ।
  • नेपाली सेनाका दुई जना प्रमुख सेनानीको महासेनानी पदमा बढुवा गर्ने र दुई जना महासेनानीको सरुवा गर्ने ।
  • केराबारी–न्यु मस्र्याङ्दी–दरौँदी करिडोर १३२ केभी विद्युत प्रशारण लाइन आयोजना निर्माणको लागि राष्ट्रिय वनको वन क्षेत्रको जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका रुख–पोल हटाउन स्वीकृति दिने।
  • माथिल्लो जुनबेसी खोला जलविद्युत आयोजना निर्माणको लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका रुख–पोल हटाउन स्वीकृति दिने ।
  • सेती खोला जलविद्युत आयोजनाको १३२ केभी विद्युत प्रशारण लाइन आयोजना निर्माणको लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका रुख–पोल हटाउन स्वीकृति दिने । 
  • जेन–जी परिषद् गठन गर्ने ।
  • नेपाल सरकारका सचिवहरू डा. रामप्रसाद घिमिरे र डा. हरिप्रसाद लम्साललाई अनिवार्य अवकाशको जानकारी दिने र उहाँहरूले हालसम्म पुर्‍याउनुभएको योगदानको लागि नेपाल सरकारको तर्फबाट धन्यवाद दिने ।
  • नेपाल सरकारका राजपत्रांकित विशिष्ट श्रेणीका ६ जना अधिकृतहरूको वैदेशिक भ्रमण स्वीकृत गर्ने ।