निर्वाचन प्रणालीमा सुधार नभएसम्म महिला उम्मेदवारहरूको सहभागिता बढाउन सकिँदैनः विमला घिमिरे


काठमाडाैँ । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले निर्वाचन प्रणालीमा सुधार नभएसम्म महिला उम्मेदवारहरुको सहभागिता बढाउन सकिने अवस्था नरहेको बताएकी छन् ।

बुधवार आफ्नै कार्यकक्ष सिंहदरवारमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले विद्यमान निर्वाचन प्रणालीका कारण निर्वाचनमा महिलाहरुको उम्मेदवारीमा कमी हुन गएको प्रष्ट्याएकाी हुन्। उनले विद्यमान निर्वाचन प्रणाली खर्चिलो भएकाले पनि प्रत्यक्षतर्फ महिला उम्मेदवारको संख्या बढाउने अवस्था नआएको तर्क पनि गरिन् ।

उपाध्यक्ष घिमिरेले प्रत्यक्षतर्फको निर्वाचनमा लडनका लागि पार्टीले आफूलाई भनेको भएपनि खर्च धेरै हुने भएकाले आफूले उम्मेदवारी दिने आँट गर्न नसकेको उल्लेख गरिन् । उनले प्रत्यक्षतर्फ भन्दा समानुपातिक तर्फका सांसदहरुलाई कमजोर ठान्ने सोच नै गलत भएको बताइन् । देशभरका मतदाताहरूले समानुपातिक सांसदहरूलाई निर्वाचित गराउने भएकाले उनीहरुलाई प्रत्यक्षतर्फको सांसदभन्दा कमजोर ठान्न नमिल्ने उपाध्यक्ष घिमिरेको भनाइ थियो । 

उपाध्यक्ष घिमिरेले एक पटक समानुपातिकतर्फबाट सांसद भइसकेकाहरुलाई फेरि सोहीतर्फको उम्मेदवारी बनाउने काम गर्न नहुने धारणा समेत राखिन् ।