निर्वाचन दिनमा पनि पर्यटन नरोकिने, अनुमति लिएर पर्यटक सवारी चलाउन पाइने


प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन देशभर सवारी सञ्चालनमा कडाइ गरिने भए पनि पर्यटन क्षेत्र प्रभावित नहोस् भन्ने उद्देश्यले विशेष व्यवस्था गरिएको छ। निर्वाचन आयोग ले पर्यटक आवागमनका लागि अनुमति लिएर सवारी सञ्चालन गर्न सकिने प्रावधान ल्याएको हो।

आयोगले जारी गरेको ‘सवारी साधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ अनुसार निर्वाचनका दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ उडान नियमित सञ्चालन हुने भएकाले विमानस्थल–होटल तथा गन्तव्यबीच पर्यटक आवागमन सुनिश्चित गर्न सवारी सञ्चालन गर्न पाइनेछ। यसका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट र काठमाडौं उपत्यकाभित्र आयोगबाट कम्तीमा दुई दिनअघि अनुमति लिनुपर्ने व्यवस्था गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

निर्वाचनका दिन सडक सवारीमा कडाइ हुने हुँदा विदेशी पर्यटकको आवागमन अवरुद्ध नहोस् भन्ने उद्देश्यले यस्तो सहुलियत व्यवस्था गरिएको आयोगको भनाइ छ। यसले चुनावी बन्दोबस्ती र पर्यटन सेवाबीच सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यविधिमा राजमार्गमा सञ्चालन हुने सवारीको आवागमन व्यवस्थित गर्न पनि छुट्टै प्रावधान गरिएको छ। अत्यावश्यक सेवा, कूटनीतिक नियोग र मानवअधिकार आयोगबाहेक अन्य सवारी भने अनुमतिबिना सञ्चालन गर्न नपाइने उल्लेख छ।

निर्वाचन अवधिमा सामान्य सवारीमा प्रतिबन्ध लाग्ने भए पनि पर्यटक सेवाका सवारीलाई पूर्वस्वीकृति मार्फत सञ्चालन गर्न दिइने व्यवस्थाले पर्यटन उद्योगलाई राहत मिल्ने सरोकारवालाको अपेक्षा छ।