‘व्यवस्था फेर्‍यौं, अब अवस्था फेर्छौं’: नेपाली कम्युनिष्ट पार्टी


काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीले आगामी, २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो औपचारिक अपिल (घोषणापत्र) सार्वजनिक गरेको छ ।

पार्टी कार्यालय पेरिस डाँडामा बिहीवार औपचारिक अपिल सार्वजनिक गरेको हो । अपिलमा मुलुकको विद्यमान राजनीतिक प्रणालीलाई सुदृढ गर्दै जनताको जीवनस्तरमा परिवर्तन ल्याउने संकल्प गरिएको छ ।

अपिल सार्वजनिक गर्दै पार्टीका नेता डा. वेदुराम भुसालले राष्ट्रियता र संघीयताको रक्षा अपिलमा वाह्य हस्तक्षेपविरुद्ध राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको बताए ।

नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको पक्षमा दृढतापूर्वक उभिने प्रतिवद्धता जनाउँदै पार्टीले संघीयता, समानुपातिक र समावेशी लोकतन्त्रलाई अझ सुदृढ बनाउने लक्ष्य राखेको उल्लेख गरे ।

भ्रष्टाचार नियन्त्रण र सम्पती छानबिन पार्टीले सुशासनका लागि ‘शुन्य सहनशीलता’को नीति अघि सारेको छ । अपिलको एक मुख्य बुँदामा ‘उच्च स्तरीय सम्पती छानबिन आयोग’ गठन गरी सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पती छानबिन गर्ने र अवैध रूपमा आर्जन गरिएको सम्पती राष्ट्रियकरण गर्ने नीति लिइने उल्लेख छ । 

आर्थिक आत्मनिर्भरता र निर्वाचन प्रणालीमा सुधार वर्तमान महँगो निर्वाचन प्रणालीले अस्थिरता निम्त्याएको ठहर गर्दै पार्टीले यसलाई सरल र कम खर्चिलो बनाउन परिवर्तन गर्ने प्रश्ताव गरेको छ । आर्थिक क्षेत्रमा कृषि, उद्योग, ऊर्जा र पर्यटनलाई मेरुदण्ड मान्दै व्यापार घाटा कम गर्ने र खाद्यान्नमा आत्मनिर्भर बन्ने योजना अपिलमा समावेश छ ।

सामाजिक न्याय र विभेदको अन्त्य जातीय छुवाछुत, छाउपडी, दाइजो र बोक्सी जस्ता कुऋति तथा अन्धविश्वासलाई पूर्ण रूपमा अन्त्य गर्ने र विभेदकारी व्यवहार गर्नेहरूमाथि कडा कानूनी कारबाही गर्ने प्रतिवद्धता पार्टीले व्यक्त गरेको छ ।

परराष्ट्र नीति र सीमा रक्षा नेपालको हितलाई केन्द्रमा राखेर पञ्चशीलको सिद्धान्तका आधारमा परराष्ट्र सम्बन्ध सञ्चालन गर्ने र असमान सन्धि–सम्झौताहरू खारेज गर्दै अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन पहल गर्ने विषय राखिएको नेता भुसालले बताए ।

‘व्यवस्था बदल्यौँ, अब अवस्था बदल्नेछौँ’ भन्ने मुख्य नाराका साथ सार्वजनिक गरिएको यो अपिलले मतदातालाई नयाँ आशा र भरोसा दिलाउन खोजेको देखिन्छ । विगतका कमी–कमजोरीहरूलाई सच्याउँदै अघि बढ्ने प्रतिवद्धता गरिएको छ ।