आचारसंहिता उल्लङ्घनमा दुई उम्मेदवार र एक दललाई जरिवाना, ८२ जनासँग आयोगको स्पष्टिकरण


काठमाडाैँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको ठहर गर्दै दुई जना उम्मेदवार र एक राजनीतिक दललाई कारबाही गर्ने निर्णय गरेको छ।

निर्वाचन आयोग नेपालअन्तर्गतको केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिको निर्णयअनुसार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत र स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाललाई जनही २५ हजार रुपैयाँ जरिवाना गरिएको हो। त्यस्तै, श्रम संस्कृति नामक राजनीतिक दललाई पनि २५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरिएको आयोगले जनाएको छ।

बिहीबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजकसमेत रहनुभएका निर्वाचन आयुक्त सगुन समशेर जबराले प्रतिनिधिसभा सदस्यका दुई उम्मेदवार र एक राजनीतिक दलमाथि कारबाही गरिएको जानकारी दिए।

आचारसंहिता उल्लङ्घनबारे सोधिएको स्पष्टिकरण चित्तबुझ्दो नभएपछि आयोगले जरिवाना गर्ने निर्णय गरेको उनको भनाइ छ।

आयुक्त जबराका अनुसार आयोगमा आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेपछि मात्र नभई त्यसका प्रमाण आवश्यक पर्ने भएकाले प्रमाणका आधारमै कारबाही प्रक्रिया अघि बढाइएको हो।

हालसम्म देशभर करिब तीन सयभन्दा बढी उजुरी परेका छन् भने केन्द्रीय निर्वाचन आयोगमार्फत ८२ जनासँग स्पष्टिकरण सोधिएको छ। तीमध्ये ५७ जनाबाट जवाफ प्राप्त भइसकेको र ६ जनाको स्पष्टिकरण चित्त नबुझेपछि पुनः स्पष्टिकरण मागिएको उहाँले जानकारी दिनुभयो।

यसैबीच, निर्वाचन आचारसंहिताविपरीत एउटा संस्थानबाट निकालिएका दुई जना कर्मचारीलाई पुनःवहाली गर्न आयोगले निर्देशन दिएको छ।

सञ्चार गृह तथा सञ्चारकर्मीबाट भएको आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीमा कारबाहीका लागि आयोगले प्रेस काउन्सिल नेपाललाई पत्राचार गरिसकेको छ। आयुक्त जबराले केही दिनभित्र काउन्सिलबाट कारबाही प्रक्रिया अघि नबढे आयोग स्वयं सक्रिय भएर कदम चाल्न सक्ने चेतावनी पनि दिएका छन् ।