काठमाडाैँ । खाद्य आयात–निर्यात तथा गुणस्तर नियमनमा थप कडाइ गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा आयात अनुमति जारीदेखि विषादी परीक्षणसम्मका सबै प्रक्रियामा कडाइ गरेको जनाएको छ।
विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ७ हजार ८७३ वटा खाद्य पदार्थका आयात अनुमतिपत्र जारी गरिएको छ।
तर आवश्यक कागजात अधूरा भएका, पूर्ण लेबल विवरण नभएका तथा सेवाग्राहीको मागअनुसार आयात गरिन खोजिएका मसला, कच्चा तेल, बेकरी सर्टनिंग, भिटामिन प्रिमिक्स, चामल, चाउचाउ, तिलको तेल, लिक्विड ग्लुकोजलगायत विभिन्न खाद्य पदार्थका २२९ वटा कन्साइन्मेन्टको अनुमति खारेज गरिएको विभागका प्रवक्ता डा. बालकुमारी शर्माले जानकारी दिइन्।
उनका अनुसार खाद्य पदार्थको आयात अनुमति पत्र नेपाल राष्ट्रिय एकद्वार प्रणाली मार्फत अनलाइन प्रणालीबाट जारी हुँदै आएको छ, जसले सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाएको छ।
निर्यात प्रवर्धनका लागि विभागले प्रयोगशाला परीक्षण तथा हेल्थ सर्टिफिकेट जारी गरी निर्यात प्रक्रियालाई सहज बनाएको जनाएको छ। छुर्पी, चिउरा, अचार, मसलाजन्य पदार्थ, फ्रेस अदुवा, मह, प्रशोधित वनस्पति तेल, चिया र कफी जस्ता खाद्य वस्तु विभिन्न देशमा निर्यात गर्न आवश्यक प्रमाणपत्र जारी गरिएको प्रवक्ता शर्माले बताइन्।
यस्तै, आयातित तरकारी र फलफूलमा विषादीको द्रुत परीक्षण (आरपीआर) पनि कडाइका साथ लागू गरिएको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३४ हजार ८५५ नमूनाको परीक्षण गर्दा १९ नमूना प्रतिकूल पाइएको विभागले जनाएको छ।
आन्तरिक बजार अनुगमनका क्रममा काठमाडौं उपत्यकाका मुख्य तरकारी तथा फलफूल बजारबाट सङ्कलन गरिएका १ हजार २५३ नमूनामध्ये सीतापाइलाबाट संकलन गरिएको रायोको सागको एउटा नमूना प्रतिकूल भेटिएको थियो।
विभागले खाद्य सुरक्षालाई प्राथमिकतामा राख्दै आयात, निर्यात तथा आन्तरिक बजार अनुगमनलाई अझ प्रभावकारी बनाउने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्