विदेशी श्रमिकको सङ्ख्या बढ्दै: चिनियाँ, युके र जापानी बढी, भारतीय श्रमिक अभिलेखबाहेक २० लाखभन्दा बढी कार्यरत


काठमाडाैँ । नेपालमा आएर काम गर्ने विदेशीको सङ्ख्या प्रत्येक वर्ष बढेर गएको छ । श्रम, रोजगार तथा व्यवसायजन्य सुरक्षा विभागकाअनुसार चीन, भारत, अमेरिका, बेलायत, क्यानडासहित ७४ देशका नागरिकले श्रम इजाजत लिएर निर्माण, स्वास्थ्य, हबाइ उडानसहितका क्षेत्रमा काम गरिरहेका छन् ।

विभागकाअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ८ सय ९२ जना विदेशीले नयाँ श्रम स्वीकृति लिएका थिए भने १ हजार ६ सय ६७ जनाले श्रम नविकरण गराएका थिए । यसरी कुल २ हजार ५ सय ५९ जना विदेशी श्रम इजाजत लिएर नेपालमा कार्यरत छन् । 

चालु आर्थिक वर्षको माघ मसान्तसम्म ३ सय ७३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने ७ सय ९३ जनाले नविकरण गराएका छन् । यस अवधिमा १ हजार १ सय ६६ जना विदेशीले श्रम इजाजत प्राप्त गरेका छन् । 

भारतबाट नेपालमा आएर विभिन्न क्षेत्रमा ठूलो सङ्ख्यामा काम गरिरहेका छन् तर भारतीय नागरिकले नेपालमा आएर काम गर्दा श्रम स्वीकृति लिननपर्ने भएकाले उनीहरुको अभिलेख सरकारी रेकर्डमा खासै देखिँदैन ।  

विभागका महानिर्देशक चक्रपाणी पाण्डेले अहिले सङ्ख्यात्मक रूपमा श्रम स्वीकृति लिएर सबैभन्दा धेरै चिनियाँ नागरिकले नेपालमा श्रम इजाजत लिएर काम गरिरहेको बताए । उनकाअनुसार वर्षेनी करिव १ हजार ६ सय चिनियाँ नागरिक नेपालमा आएर काम गरिरहेका छन् । 

त्यस्तै बेलायत (युके) बाट एक सयभन्दा बढी नागरिक नेपालमा कार्यरत छन् भने जापनबाट पनि १ सय भन्दा बढी नागरिक विभिन्न परियोजनामा संलग्न छन् । ठूलो सङ्ख्यामा भारतीय नागरिकहरू नेपालमा काम गरिरहेका भएपनि उनीहरूले श्रम इजाजत लिन नपर्ने प्रावधानका कारण वास्तविक सङ्ख्या अभिलेखमा नरहेको पाण्डेले बताए । 

उनकाअनुसार नेपाल–भारतबिच सन् १९५० को सन्धिअनुसार दुवै देशका नागरिकले एकअर्का देशमा काम गर्दा श्रम इजाजत लिनु नपर्ने व्यवस्था छ । तथापि, केही प्रतिष्ठानमा उच्चस्तरमा कार्यरत ३० जना भारतीय नागरिकले भने श्रम स्वीकृति लिएर काम गरिरहेका छन् ।

नेपालको श्रम ऐनअनुसार बढी दक्ष कामदारलाई बढीमा ५ वर्ष र अन्य प्राविधिकलाई ३ वर्षसम्म काम गर्न दिने व्यवस्था छ । बढी दक्ष कामदारले पुनस्र्थापना योजना पेश गर्नुपर्छ । उच्च प्राविधिक काम गर्ने विदेशी नागरिकले १२ वर्षसम्म श्रम नविकरण गराएर बस्न पाउने व्यवस्था छ ।

विभागकाअनुसार विशेषगरी निर्माण क्षेत्रमा विदेशी नागरिकको उपस्थिति उल्लेख्य छ । सुरुङ, टनेल, जलविद्युत आयोजना जस्ता प्रविधि आधारित ठूला परियोजनामा विदेशी प्राविधिक कार्यरत छन् । चिनियाँ सहयोगमा स्थापित सिमेन्ट तथा जलविद्युत उद्योगहरूमा चिनियाँ नागरिकहरूको संलग्नता देखिन्छ ।

यस्तै, नेपालमा सञ्चालित ब्रिटिस स्कुलहरूमा युकेका नागरिकहरू कार्यरत छन् भने जापानी परियोजनाहरूमा १०० भन्दा बढी जापानी नागरिक कार्यरत छन् । केही अस्पतालमा विदेशी डाक्टर कार्यरत छन् । केही एयरलाइन्स कम्पनीहरूमा विदेशी स्टेशन म्यानेजर छन् भने कतिपय विश्वविद्यालयमा विदेशी शिक्षकले अध्यापन गरिरहेका छन् ।

नेपाल सरकारसँग परियोजना सम्झौता गर्दा कतिपय विदेशीलाई श्रम स्वीकृति लिन नपर्ने व्यवस्था गरिने भएपनि अधिकांशले श्रम स्वीकृति लिनैपर्छ । कुनै प्रतिष्ठानमा विदेशी नागरिकले विना इजाजत काम गरेको पाइए कारबाही गरिने विभागले जनाएको छ ।

भारतीय मजदुरको नेपालमा आएर काम गर्नेको अभिलेख राम्रोसँग नराखिएपनि निर्माण क्षेत्र ठूलो मात्रमा भारतीयहरू रहेको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह बताउँछन्।

उनकाअनुसार नेपालका निर्माण क्षेत्रमा अहिले पनि करिव ७ लाख भारतीय मजदुर कार्यरत छन् । नेपालमा निर्माण क्षेत्रमा काम गर्ने मजदुरको अभाव चरम छ । विदेशीने होडले गर्दा मजदुर नपाइएको र भारतबाट ठूलो सङ्ख्यामा मजदुर ल्याउन परेको सिंह बताउँछन् । उनकाअनुसार भारतका गाउँगाउँमा गएर मजदुर ल्याउनुपर्ने अवस्था छ । अहिले मजदुर ल्याउने होड चलेको छ, जसमा धेरैलाई आश्वासन दिएर झुक्याउने प्रवृत्ति पनि बढेको छ । निर्माण कम्पनीहरूबिच प्रतिस्पर्धा हुँदा मजदुर तानातान हुने र पेश्की दिएको रकम फिर्ता लिनसमेत कठिनाइ हुने अवस्था रहेको उनले बताए ।

कतिपय अवस्थामा २५ लाखमा सहमति गरेको काममा अन्य कम्पनीले २७ लाख प्रश्ताव गर्दा मजदुरले धोका दिएर अन्यन्त्रै जाने गरेका छन्, जसले गर्दा समय नोक्शानी हुने गरेको सिंह बताउँछन् । सिंहकाअनुसार एउटा मजदुर टोली ल्याउन ५–७ दिन लाग्ने गरेको छ । सिंहले उद्योगधन्दा र निर्माण क्षेत्रसहित नेपालका विभिन्न क्षेत्रमा भारतीय मजदुरको सङ्ख्या २० लाखभन्दा बढी हुनसक्ने आँकलन गरे। 

सिंहकाअनुसार निर्माण क्षेत्रमा कार्यरत भारतीय मजदुर नेपाली भन्दा फरक हुन्छन् । नेपाली श्रमिकहरू विदेश जाँदा कम्तीमा दुई वर्षका लागि जाने गर्छन् भने भारतीय मजदुरहरू नेपालमा बढीमा ६ महिना काम गरेर फर्कने गरेका छन् ।

श्रमिकको सम्मान र काम गर्ने वातावरण अभावका कारण नेपालीहरू विदेश पलायन भइरहेको उल्लेख गर्दै उनले राजनीतिक दलहरूले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने वातावरण बनाउनुपर्ने, काम गर्ने अवसर सिर्जना गर्नुपर्ने र श्रमको सम्मान सुनिश्चित गर्नुपर्नेमा जोड दिए।